| बिहिबार, कार्तिक ४, २०७८

ब्यवशायी एवं कांग्रेस नेता खत्रीद्वारा आठ सय चेपाङ परिवारलाई खाद्यान्न सहयोग (फोटो फिचर)

पर्यटन ब्यवशायी एवं कांग्रेस नेता प्रेम खत्रीले गोरखाका आठ सय चेपाङ परिवारलाई खाद्यान्न बितरण गरेका छन् । उनले गण्डकी गाउँपालिका भित्रका चेपाङ परिवारलाई प्रति परिवार दुई हजार रुपैयाँ बरावरको खाद्यान्न बितरण गरेका हुन् ।


उनी संस्थापक रहेका संभव नेपाल नामक संस्था मार्फत मंगलवार उनले कोभिडबाट प्रभावित चेपाङ परिवारलाई खाद्यान्न सहयोग गरेका हुन् । ‘कोरोनाका कारण काम बिहिन भएका चेपाङ परिवारलाई केही छाक खानका लागि खाद्यान्न दिएका हौँ’ उनले भने ‘गाउँपालिकाको आग्रह र समन्वयमा समाजमा पछाडी परेका, आर्थिक स्तर कमजोर भएका समुदायलाई सहयोग गरेका हौँ ।’ खाद्यान्न बितरण गर्दै उनले आगमी दिनमा पनि सहयोगलाई निरन्तरता दिने बताएका छन् ।

गण्डकी गाउँपालिका गोरखाको सबैभन्दा धेरै चेपाङ रहेको पालिका छ । दैनिक ज्याला मजदुरी गरेर गुजारा गर्दै आएका चेपाङ समुदाय खाद्यान्न पाएपछि खुसी भएका छन् । ‘पहिले गिठ्ठा भ्याकुर खाईन्थ्यो, अहिले कन्दमुल खाँदैनन’ लालबहादुर चेपाङले भने ‘खेती गर्ने जमिन छैन, दुई तीन महिना पुग्ने खेती उब्जाउन मुस्किल पर्छ ।’ संभव नेपालले दिएको एक बोरा चामल, तेल, दाल, नुन पाएपछि खुसी हुँदै उनले भने ‘केहीदिन भएपछि छाक टर्ने भए, भात खान पाउने भएँ ।’

उनको मात्र होईन त्यस क्षेत्रका अधिकासं चेपाङको मुस्किलले तीन देखि पाँच महिनालाई पुग्ने मकै हुन्छ । धेरै सन्तान भएको घरमा दुई महिना मात्रै खान पुग्ने उब्जनी हुन्छ । उनीहरु पृथ्वीराजमार्ग छेउमा झरेर दैनिक ज्याला मजदुरी गर्दै गुजारा गर्छन ।


‘कोरोनाका कारण बजार, यातायात बन्द हुँदा चेपाङहरुको रोजगारी गुमेको छ’ गण्डकी गाउँपालिकाका अध्यक्ष होमबहादुर रानाले भने ‘संभव नेपाललाई अनुरोध गरेर पालिकाको समन्वयमा खाद्यान्न बितरण भएको हो ।’ बिपन्न र पछाडी परेका चेपाङ समुदायमा सहयोग र बिकासका लागि गाउँपालिकाले पनि निरन्तर सहयोग गर्दै आएको उनले बताए ।

‘समाजमा पछाडी परेका र पारिएका चेपाङहरुलाई गुजारा चलाउन ठुलो माात्रामा एकै पटक सहयोग गरिएको छ’ चेपाङ संघका केन्द्रिय अध्यक्ष जितेन्द्र चेपाङले भने । चेपाङ समुदायमा अहिले पनि छाक टार्नको समस्या भएकाले संभव नेपालका अध्यक्ष खत्रीले जस्तै सहयोग सबैपक्षबाट हुनु जरुरी रहेको उनले बताए ।


खाद्यान्न बितरण कार्यक्रममा गाउँपालिका उपप्रमुख ललिता अधिकारी, वडा अध्यक्षहरु, लगायतको उपस्थिती थियो । उक्त कार्यक्रमको सहजिकरण गण्डकी गाउँपालिका मकैसिंङका उत्तम अधिकारीले गरेका थिए । एकै ठाउँमा भिड धेरेहुने भन्दै गाउँपालिका र वडा कार्यालयले बिभिन्न पाँच ठाउँमा खाद्यान्न बितरण गरेको थियो ।

संभव नेपालले गोरखाको आरुघाट गाउँपालिका मान्बुमा छात्राबास भबन निर्माण, बिभिन्न पालिकामा विद्यार्थीलाई विद्यालय पोशाक, कोभिड माहामारीले आक्रान्त बनाएका बेला गोरखाका स्थानीय तहलाई औषधी र उपकरण सहयोग, गोरखामा छ वटा एम्बुलेन्स बितरण लगायतका सामाजिक काम गर्दै आएको छ । संस्थाका अध्यक्ष खत्री गोरखाको आरुघाट गाउँपालिका आरुपोखरीका हुन् । उनी नेपाली कांग्रेसका महासमिति सदस्य हुन् ।