| बिहिबार, कार्तिक ४, २०७८

गोरखाको मनास्लु हिमाल चढ्दै दुबै खुट्टा नभएका पर्यटक

घुँडाभन्दा तल उनको दुबै खुट्टा छैनन् तर पनि साहासिक काममध्ये मानिने हिमाल आरोहणमा उनी लागिपरेका छन् । गत वर्ष युरोपकै अग्लो एलब्रस हिमाल (पाँच हजार ६४२ मिटर) आरोहण गरिसकेका रुसी आरोही रुस्तम नवियावले जोखिमपूर्ण हिमालमा मानिने मनास्लु हिमाल (आठ हजार १८३ मिटर) आरोहण गर्दैछन् ।


उनले पर्यटन विभागबाट मनास्लु हिमाल आरोहण गर्ने अनुमती लिईसकेको बिभागले जनाएको छ । उनी अहिले आधार शिविर पुगिसकेका छन् । यो महिना भित्रै उनले मनास्लुको आरोहण गर्ने आयोजक कम्पनी सेभेन समिट ट्रेकले जनाएको छ ।


शारीरिकरुपमा अशक्त भए पनि नवियावले आरोहणलाई रोजेपछि विश्व कीर्तिमान कायम हुनेभएको छ । दुई वर्षअघि दुवै खुट्टा नभएका हरि मगरले मेरापिक हिमालको आरोहण गरेका थिए । मगरले सर्वोच्च शिखर सगरमाथाको आरोहण गर्ने तयारी गरिरहेका छन् ।
दुई जना रुसी गाइड र दुई जना शेर्पा गाइडसहित उनी आरोहणमा गएको टासिलाक्पा शेर्पाले बताए ।


मनास्लु हिमाल आरोहणका लागि तेस्रो क्याम्पसम्म बाटो निर्माण गरिसकेकाले असोजदेखि आरोहण शुरु हुने कम्पनीहरुले जनाएका छन् । हिउँद मौसममा आरोहण हुने यस हिमालमा कोरोना महामारीकै वीचमा पनि ठूलो संख्यामा आरोहण हुनेभएको छ ।

यस महिना १७ आरोहणदलबाट १३३ पुरुष र ३८ महिला गरी १७१ जना आरोहीले आरोहण अनुमति लिईसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्