| बिहिबार, कार्तिक ४, २०७८

संसदीय अभ्यास सिक्दै गोरखाका बालवालिका

सभामुख प्रकृति दवाडीले संसदमा रुलिङ सुरु गर्छिन् । सुरु भएलगत्तै सभासद सदीक्षा कट्टेलले सडक हिलाम्य भएको, बालवालिका हिड्न पनि नसकेको बारे सरकारको ध्यानाकर्षण गर्छिन्

। सभामुखले प्रतिपक्ष दलका नेता दुर्गा केसीलाई समय दिन्छिन् । उनी भन्छिन् ‘बाल अधिकारको बारेमा सरकार गम्भीर हुनुपर्छ ।’
बिकास निर्माणको विषयमा सभामुखले मन्त्री उज्वलराज पन्तलाई जवाफ दिन भन्छिन् । मन्त्री पन्तले भने ‘तपाईले उठाउनुभएको विषय छिट्टै समाधान हुन्छ, हामीले ध्यान दिएका छौँ ।’


संसदमा उठेका विषयप्रति प्रधामन्त्रीलाई बोल्न समय दिइन्छ । प्रधानमन्त्री अप्रिसा श्रेष्ठले बाल अधिकारको बारेमा सरकार गम्भीर रहेको बताउँदै भनिन्, ‘सडक निर्माणका लागि पनि आवश्यक बजेट बिनियोजन सरकारले गरेको छ, अब तत्काल काम अघि बढ्छ ।’ .
शनिवार गोरखा सदरमुकाममा बालवालिकाले गरेको संसदीय अभ्यासको दृश्य हो यो ।

गोरखा नगरपालिकाले नगरक्षेत्र भित्रका बालवालिकालाई संसदीय अभ्यासको बारेमा जानकारी दिन यो कार्यक्रम संचालन गरेको सामाजिक बिकास शाखा प्रमुख बिजयभक्त उपाध्यायले बताए । उनले भने ‘हाम्रो देशको संसदीय ब्यवस्था प्रणालीको बारेमा बालवालिकाले पनि जानकारी पाउन् भन्ने उद्देश्यले यो अभ्यास सिकाइएको हो ।’ संसदबाट कसरी जनताको सेवा प्रवाह हुन्छ ? विषयबस्तु कसरी उठाइन्छ ? प्रक्रिया के हुन्छ ? संसदले के काम गर्छ भन्ने बारेमा पनि बालवालिकालाई जानकारी दिने उद्देश्य रहेको उनले बताए ।


बाल संसद अभ्यास कार्यक्रमको सहजिकरण शिवहरी तिमल्सिना र अनिला थापा मगरले गरेका थिए । कार्यक्रममा उपप्रमुख बिनाकुमारी श्रेष्ठ, निमित्त प्रमुख प्रशासकीय अधिकृत चन्द्रबहादुर खड्का लगायतको उपस्थिति थियो । उक्त अभ्यासले नेपालमा हुने संसदीय प्रणालीको बारेमा केही जानकारी पाएको सहभागी बालवालिकाले बताएका थिए ।


गोरखा नगरपालिकाले बाल भेला पनि शनिवार गरेको छ । १४ वटै वडाबाट बालवालिकालाई भेलामा सहभागी गराइएको सामाजिक बिकास शाखाका शोभा दवाडीले बताईन् ।

प्रतिक्रिया दिनुहोस्