| सोमवार, मंसिर १३, २०७८

editorial

लोकतान्त्रिक पद्धतिमा होओस् काङ्ग्रेसको पालिका अधिवेशन


अहिले गोरखामा सबैभन्दा धेरै चहलपहल काङ्ग्रेस नेता, कार्यकर्ताको छ । १४ औँ महाधिवेशनको तयारीमा जुटेको कांग्रेसले शनिबार(आज) गाउँ, नगर अधिवेशन गर्दैछ ।


नगर अधिवेशनका लागि अहिले गोरखाका सडक, होटल, पार्टी कार्यालय, चियापसल जहाँतहीँ भेटघाट, गठजोड, गन्थन–मन्थन गरिरहेका छन् । शुक्रबार बिहानसम्म सदरमुकाममा खचाखच कांग्रेस नेता, कार्यकर्ता अपराह्नतिर आ–आफ्नो पालिकातिर गएका छन् ।


यसले गर्दा अहिले गोरखाका गाउँ–ठाउँ पनि काङ्ग्रेसको अधिवेशनमय बनेको छ ।
भर्खरै कांग्रेसले वडातहको अधिवेशन सम्पन्न गरेको छ ।


यही महिनाभित्र निर्वाचन क्षेत्र स्तरीय प्रदेश क्षेत्र स्तरीय अधिवेशन हुदैछ ।


भर्खरै सम्पन्न वडा तहको अधिवेशनमा धेरैतिर अलोकतान्त्रिक गतिविधि भयो, निरंकुशताको पराकाष्टा नाघ्यो भन्ने गुनासो सुन्नमा आयो । अलोकतान्त्रिक पद्धति भयो भन्ने बहानामा भीमसेनथापा गाउँपालिकाकी उपप्रमुख विनु वाग्लेले पार्टी छाडेको घोषणासमेत फेसबुकमार्फत गरिन् । पालुङ्टार नगरपालिका ६ का देवानन्द न्यौपानेले पनि वडा अधिवेशनमा अलोकतान्त्रिक हर्कत भयो भन्ने आरोप लगाउँदै पार्टी कार्यालय, निर्वाचत अधिकृत तथा सञ्चारमाध्यममा उजुरी दिए ।


यी त केही बाहिर आएका घटना मात्र हुन्, कैयौँ यस्ता घटना लुकेका छन्, बाहिर आउन सकेका छैनन् ।


७० बर्ष पुरानो बिरासत बोकेको पार्टी काङ्ग्रेस, लोकतन्त्रको महिमा गाएर नथाक्ने कांग्रेस, अधिवेशनमा भने निरंकुश बनेको देखियो । अलोकतान्त्रिक गतिविधि गरेको देखियो । बाहिर मञ्चमा, सडकमा लोकतन्त्रको मसीह ठान्ने पार्टीले आन्तरिक जीवनमा अलोकतान्त्रिक, निरंकुश हर्कत गर्न सुहाउँदैन ।


तसर्थ अन्य पार्टीलाई पनि नैतिक दृष्टान्त देखाउने गरी लोकतान्त्रिक अभ्यास गर्नुपर्छ । जसले गर्दा अन्य पार्टीको पनि छिट्टै हुने अधिवेशनबाट सबैभन्दा जेठो पार्टीबाट लोकतान्त्रिक परिपार्टी सिकुन् ।

प्रतिक्रिया दिनुहोस्