| बिहिबार, कार्तिक ४, २०७८

डाक्टरसाव भन्नुहुन्छ : दशैँमा एकछाक मासु, अर्को छाक सागसब्जी खाऔँ


हिन्दू नेपालीहरुको महान चाड दशैँ सुरु भइसकेको छ । समय उत्सवमय छ । साथीभाई, नातागोतासित रम्दारम्दै हामीले आफ्नो स्वास्थ्यबारे ख्याल गर्न बिर्सेका हुनसक्छौँ । रम्ने विभिन्न माध्यम हुन्छन् । त्यसमध्य खानामा रम्दा धेरै कुरामा ध्यान दिनुपर्छ । यसै बिषयमा गोरखा अस्पतालका जनरल फिजिसियन डाक्टर अजयराज गौतमसित गरिएको कुराकानीको सार संक्षेप :

दशैँको बेला कस्ता खानेकुरा कसरी खाँदा स्वास्थ्यलाई फाईदा हुन्छ ?


हामीले दशैँको बेला खसीको मासु धेरै खान्छौँ । खसीको मासुमा रातो मासु अधिक हुन्छ । यसमा बोसोको मात्रा पनि बढी हुन्छ । विषेश गरी मुटुको रोग, सुगर, प्रेसर र अन्य रोग लागेका मानिसले यस्तो मासु कम खानु राम्रो हुन्छ ।


स्वस्थ मानिसले पनि खसीको मासु धेरै खान स्वास्थ्यको लागि राम्रो हुँदैन । दशैँको हरेक दिन खसीको मासु खानु भन्दा एक दिन खसी अर्को दिन कुखुराको मासु, वा बोसो कम भएको माछा, मासु खाँदा राम्रो हुन्छ । कुखुरामा बोसो कम हुन्छ । दिनदिनै खसीको मासु खानु स्वस्थकर हुँदैन ।


चिल्लो खानेकुराले मुटुको सुगरप्रेसर बढाउँछ । स्वास्थ्यमा समस्या आउँछ । रोग नभएकाले पनि चिल्लो, पिरो खानु हुँदैन ।

पोलेको मासु कत्तिको फाईदाजनक हुन्छ ?


पोलेर मासु खानु स्वास्थ्यको लागि चिल्लो कम हुने भएकाले ठिक हो तर नपाकेको मासुले पखला लाग्ने, पेटको समस्या सिर्जना हुन सक्छ । राम्रोसँग पोलेर, सफा गरेर खाँदा ठिक हुन्छ । तर पोलेको मासु राम्रो सँग पाकेन भने अपच हुने खतरा हुन्छ । यसले अरु समस्या निम्त्याउन सक्छ ।

मासु कसरी मात्रा मिलाएर खान सकिन्छ ?


मासु खाँदा बिहान, दिउँसो, बेलुकी तीन छाक नै खाने हाम्रोमा चलन छ । दशैँमा खाना, खाजा सबैमा मासु प्रयोग गर्छौँ । तर यसरी अत्याधिक मासु खानु राम्रो होईन । एक छाक मासु खायौँ भने अर्को छाक सागसब्जीको तरकारी खानु राम्रो हुन्छ । एक छाक दाल, भात, तरकारी खायौँ भने पनि स्वास्थ्यका लागि राम्रो हुन्छ । मासुसँगै सागपात, फलफुलमा जोड दिनुपर्छ । बिरामी र स्वास्थ्यमा समस्या भएकालाई मात्र होईन अरुलाई पनि मासु मात्रै खाँदा फाईदा गर्दैन ।


अहिले ज्वरो, रुघाखोकी (भाईरल) को संक्रमण बढेको छ ? यसबाट कसरी बच्ने ?


हो, अहिले भाईरलका बिरामी बढेका छन् । गोरखा अस्पतालमा पनि अहिले दिनहुँ रुघाखोकी, ज्वरोका बिरामीको चाप बढेको छ । तर कोभिड भन्दा ज्वरोका बिरामी धेरै छन् । एक÷दुई जनामा बाहेक अन्यमा कोभिड देखिएको छैन ।
मौसमी फ्लु बढिरहेका बेला खानपानमा ध्यान दिएनौँ भने स्वास्थ्यमा थप समस्या आउन सक्छ । बिरामी भएकाहरु एक अर्का सँग धेरै घुलमिल भए भने पनि त्यसले अन्य ब्यक्तिमा सर्ने खतरा हुन्छ ।


चाडबाडको बेला कसरी सुरक्षित हुन सकिन्छ त ?


कोभिड कन्ट्रोल भईसकेको छैन । केही कम भएको हो । गोरखा अस्पतालमा अहिले पनि एक जना कोभिडको बिरामी उपचाररत हुनुहुन्छ । हामीले मास्क नलगाउने, भिडभाड गर्ने, साबुन पानीले हात नधुने, सेनिटाईजर प्रयोग नगर्ने हो भने कोभिडको खतरा कायमै छ ।


त्यसैले मास्क अनिवार्य लगाउनुपर्छ । चाडबाड त मनाउनु प¥यो तर आफु पनि सतर्क भएर मनाउनु मास्क प्रयोग गर्नु राम्रो हुन्छ । कडा कोभिड भयो भने ज्यान जान सक्छ । चाडबाडमा रमाईलो गर्ने नाममा धेरै भिडभाड भयो, स्वास्थ्य सावधानी अपनाईएन भने दशैँ लगत्तै कोभिड बढ्न पनि सक्छ । सामाजिक दुरी कायम गर्ने, भिडभाड कम गर्ने बानी सबैले गर्नुपर्छ । यसो भयो भने दशैँ पनि रमाईलो हुन्छ स्वस्थ्य पनि भईन्छ ।

प्रतिक्रिया दिनुहोस्