| शनिबार, बैशाख ८, २०८१

चिनियाँ संस्थाद्वारा गोरखाका दुई हजार विद्यार्थीलाई झोलाभरि उपहार


एक चिनियाँ सामाजिक संस्थाले गोरखाका दुई हजार विद्यार्थीलाई विभिन्न शैक्षिक तथा स्वास्थ्य सरसफाइसम्बन्धी सामग्रीहरुले भरिएको झोला उपहार दिएको छ ।


चाइना फाउण्डेशन फर पोभर्टी इल्लिभिएशन नामक संस्थाले गोरखा नगरपालिका, गण्डकी गाउँपालिका, शहीद लखन गाउँपालिका र सिरानचोक गाउँपालिकाका विद्यार्थीहरुलाई सो उपहार दिएको हो । आइतबार विद्यालयमा पुगेर गोरखा नगरपालिका ६ को बालमन्दिर माविका १८७ जना, गोरखा नगरपालिकाकै विन्दवासिनी माविका २३७ जना विद्यार्थीलाई शैक्षिक तथा स्वास्थ्य सरसफाइ सम्बन्धी सामग्रीले भरिएको झोला दिएको हो ।


त्यस्तै शहीद लखन गाउँपालिका वडा नं. ३ स्थित गंगाधर्म आधारभूत विद्यालयका ७६ जना, त्रिवेणी प्राविका ३१ जना र करनटार प्राविका २१ जना बालबालिकालाई पनि सामग्री सहितका झोला वितरण गरेको छ ।


त्यस्तै गण्डकी गाउँपालिका २ भलायडाँडा प्राविका ८४ जना र पशुपति प्राविका ४२ जनालाई पनि सो सामग्री हस्तान्तरण गरिएको फाउण्डेशनका कार्यक्रम संयोजक सुरेश प्याकुरेलले जानकारी दिए ।


उनका अनुसार आइतबार नै गोरखाकै सिरानचोक गाउँपालिकाका विभिन्न ११ वटा विद्यालयका १२०० जना विद्यार्थीलाई पनि शैक्षिक तथा स्वास्थ्य, सरसफाइ सम्बन्धी सामग्रीले भरिएका झोला हस्तान्तरण गरिएको छ ।


झोलाभित्र लेख्ने तथा चित्रकलाका कापी, कलम, पेण्टिङ कलर, खाजा तथा पानी राख्ने भाँडा, बुरुस, मञ्जन, मास्क लगायतका सामग्री रहेका छन् ।

एक जना विद्यार्थीलाई दुई हजार रुपैयाँ बराबरको सामग्रीले भरिएको झोलासेट दिइएको कार्यक्रम संयोजक प्याकुरेलले जानकारी दिए ।
राष्ट्रिय अपांग पुनर्वास समाज नामक गैरसरकारी संस्थाको संयोजनमा सो फाउण्डेशनले सहयोग गरेको संस्था र विद्यालयका बीच सहजीकरण गरेका धिरन थापाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्