| सोमवार, मंसिर १३, २०७८

संभव नेपालद्वारा भीमसेन थापाका पाँचहजार भन्दाबढि विद्यार्थीलाई ट्रयाकसुट र झोला वितरण

भीमसेन थापा गाउँपालिका भित्रका पाँचहजार दुई सय विद्यार्थीलाई ट्रयाकसुट, झोला र होमवर्क डायरी बितरण गरिएको छ । संभव नेपाल नाम एक गैरसरकारी संस्थाका संस्थापक अध्यक्ष प्रेम खत्रीले हरेक वडाको माध्यमिक विद्यालयमा पुगेर ३७ विद्यालयका विद्यार्थीलाई उक्त सामग्री बितरण गरेका हुन् ।

‘चार दिन लगाएर हामीले भीमसेन थापा गाउँपालिकाका सबै विद्यार्थीलाई एकैखाले झोला, पोशाक, डायरी बितरण ग¥यौँ’, संभव नेपालका संस्थापक खत्रीले भने, ‘चुमनुब्री, आरुघाट गाउँपालिकामा पनि बितरण भएको छ । धार्चे गाउँपालिकामा भने तिहार लगत्तै हुनेछ ।’ सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तर बढाउन मद्धत पुग्ने उद्देश्यले उक्त सामग्री बितरण गरिएको खत्रीले बताए ।

‘मैले पनि सामुदायिक विद्यालयमा पढेको हुँ । बोर्डिङ स्कुलमा पढ्न सक्नेले मात्रै एकै खालको झोला, डायरी बोक्न सक्ने, एकै खालको पोशाक लगाउन सक्ने जस्तो देखिएको छ । शिक्षामा बिभेद झल्किएको महशुस भएर एउटा प्रतिकको रुपमा मैले सबै सामुदायिक विद्यालयलाई पोशाक र झोला, डायरी दिएको हुँ ।’ बितरण गरिएको डायरीले विद्यार्थी, शिक्षक र अभिभाबकलाई पनि शिक्षाप्रति रुचि जगाउने उनले बताए । साथै उनले शिक्षा र स्वास्थ्य क्षेत्र सुधार गर्न सकियो भने दक्ष जनशक्ति उत्पादन हुने भएकाले आफ्नो पहिलो प्राथमिकता त्यसतर्फ रहेको बताए । विद्यालय तहमै पुगेर उनले समस्याहरुका बारेमा जनप्रतिनिधि, शिक्षक, अविभाबकसँग पनि छलफल गरेका थिए ।

भीमसेन थापा गाउँपालिकाका अध्यक्ष इश्वर पाण्डेले गाउँपालिकाभित्र रहेका सबै विद्यालयका सबै विद्यार्थीलाई संभव नेपालले गरेको सहयोग अहिलेसम्मकै ठूलो सहयोग भएको बताए । ‘यसले विद्यार्थीमा सिक्नुपर्छ, पढ्नुपर्छ भन्ने मनोबल थपेको छ’, उनले भने, ‘यसले गाउँपालिकाको शैक्षिक गुणस्तर बढाउनमा पनि मद्धत पुग्छ ।’ संभव नेपालका संस्थापक अध्यक्ष प्रेम खत्रीले गाउँपालिकालाई कोभिड महामारीको बेला स्वास्थ्य सामग्री सहयोग गरेको, एम्बुलेन्स दिएको बताउँदै उनले स्वास्थ्य र शिक्षाको क्षेत्रमा गरेको सहयोगमा प्रशंसा गरे ।

कार्यक्रममा भीमसेन थापा गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष प्रेमचन्द्र श्रेष्ठले विद्यालयले खरिद गर्ने योजना बनाएको तर बजेट नहुँदा न्यानो लुगा खरिद गर्न नसकेको र अहिले संस्थाबाट आउँदा खुसी लागेको बताए । वडा नम्बर ७ का अध्यक्ष नारायण श्रेष्ठले विद्यालयको अन्य गतिविधिमा पनि निरन्तर साथ सहयोगको अपेक्षा गर्दै पोशाक र झोला, डायरीले शिक्षक, विद्यार्थी, अविभाबकलाई उत्साह जागेको बताए । वडा नम्बर ८ का अध्यक्ष बासु थापाले सम्भव नेपालले विद्यालयमा गरेको लगानी र पुण्य कामबाट शिक्षक सिकाईमा हौसला मिल्ने बताए । साथै उनले विद्यालयको भौतिक संरचना, खेलमैदान, शिक्षक सामग्री लगायतका काममा सहयोग गरिदिन अनुरोध गरे ।

सोमवार र मंगलवार कार्यक्रममा भएका विद्यालयका प्रधानाध्यापकहरु शान्ति माविका सुनिल खनाल, नवजागृति चण्डी माविका ठाकुर पाण्डे, सरस्वती माविका रामचन्द्र पौडेल, जागेश्वर माविका यदुनाथ सापकोटा, पाटनदेवी माविका सन्तोष पोखरेल लगायतले सम्भव नेपाल मार्फत विद्यालयमा प्राप्त भएको सहयोगको प्रशंसा गरेका थिए ।

गोरखाको आरुघाट गाउँपालिका आरुपोखरी घर भएका खत्री पर्यटन ब्यवशायी एवं नेपाली कांग्रेस गोरखाका महासमिति सदस्य पनि हुन् । कार्यक्रममा संभव नेपालका कार्यक्रम संयोजक उत्तम अधिकारी, पत्रकार महासंघ गोरखाका अध्यक्ष नरहरि सापकोटा, विद्यालय ब्यवस्थापन समितिका पदाधिकारी, विद्यार्थी, अभिभाबक लगायतको उपस्थिति रहेको थियो ।