गुप्सीपाखा हिउँले ढपक्कै, बेशी झरे स्थानीय, आन्तरिक पर्यटक बढ्ने संकेत(फोटो फिचर)
धार्चे गाउँपालिका ४ लाप्राक स्थित गुप्सीपाखाको एकीकृत नमूना बस्ती हिउँले ढाकेको छ । मंगलबार रातीदेखि परेको हिउँले पुरै बस्ती ढाकिएको स्थानीय जेशन गुरुङले बताए । ‘हिजो रातिदेखि नै हिउँ परेको थियो ।

अहिले जताततै बाक्लो हिउँ जमेकाले हिड्ने बाटो नै छैन । डेढ फिटभन्दा बढी नै हिउँ जमेको छ’ उनले भने । हिउँ पर्ने व्रmम नरोकिएपछि सबैजना घरभित्र आगो तापेर बसिरहेको उनले बताए ।
त्यहाँ एकैठाउँमा गैरआवासीय नेपाली संघ(एनआरएनए)ले ५ सय ७३ घर निर्माण गरेका छन् ।

हिउँपरेसँगै चिसो बढ्दै गएकाले एकीकृत बस्तीमा बसिरहेका स्थानीयहरु अहिले सबै पुरानो गाउँमा झरेका छन् । २७०० मिटर उचाइमा रहेको त्यहाँ अब एक महिनासम्म हिउँ जम्नेछ । त्यसैले यहाँका बासिन्दा केही समय पुरानै बस्तीमा बस्नेछन् ।

एकीकृत नमूना बस्ती हिउँले ढाकिएपछि जनजीवन कष्टकर भए पनि हेर्नलायक भने भएको छ । गुप्सीपाखा गोरखा बजार, आँबुखैरेनी, मुग्लिन, डुम्रे, दमौली तथा चितवनबाट सबैभन्दा नजिकको हिउँ पर्ने ठाउँ हो । त्यसैले बर्षा रोकिनासाथ हिउँखेल्न गुप्सीपाखा आउने स्थानीयले बताएका छन् । ‘गतबर्ष पनि हिउँखेल्न आउनेहरुको घुइँचो लागेको थियो’, उनले भने, ‘यसबर्ष झन धेरै जना आउनेछन् भन्ने विश्वास छ ।’

हिउँखेल्न आउने आन्तरिक तथा बाह्य पर्यटकलाई मध्यनजर गरी होमस्टे भने संचालन गरिएको वडा अध्यक्ष राज गुरुङ बताउँछन् । ‘लाप्राक घुम्न आउने पर्यटकहरुलाई सहज हुन्छ भनेर हामी हिउँ परे पनि होमस्टे संचालन गरिरहेको छौ । तर अहिले हिउँसंगै पानी पनि परेकाले पर्यटकहरु एकीकृत बस्तीसम्म आउन गाउँसम्म आउन सकेको छैन’ होमस्टे संचालक दलविर गुरुङ भने । एकीकृत नमूना बस्तीको पाँच घरमा होमस्टे संचालनमा रहेको गुरुङले जानकारी दिए ।


तस्बिरः जेशन गुरुङ