| मङ्लबार, भदौ १५, २०८३

गठबन्धनले बनायो बिलखबन्धन


बैशाख ३० गते हुने स्थानीय निर्वाचन २०७९ का लागि केन्द्रतहमा गाँठो कस्सिँदै गएको छ । सोमबार पनि पाँच दलले संयुक्त विज्ञप्ति जारी गरी गठबन्धनप्रति प्रतिवद्ध रहन पार्टीपंक्तिलाई सर्कुलर गरेका छन् ।


तर गठबन्धनको गलपाँसोले गोरखाका कांग्रेस, माओवादी बिलखबन्धनमा परेका छन् । अघिल्लो चुनावमा नौ वटा पालिका जितेकाले अहिले पनि ती पालिका कांग्रेस गुमाउन चाहँदैन । गोरखा जिल्ला आफ्नो लालकिल्ला दाबी गर्ने माओवादी पनि बराबरी सिटको दाबी गरिरहेको छ । जसपाका संस्थापक नेता बाबुराम भट्टराईको जिल्ला भएकाले उचित सम्बोधनको ‘दह्रो दाबी’ जसपाले पनि गरिरहेको छ ।


सिट बाँडफाँटको दाबीमा कुनै पनि पार्टी आजका मितिसम्म टसकामस भएका छैनन् त्यसैले यो गठबन्धनको गाँठो कसिलो छ कि खुकुलो ? नौटंकी मात्र हो कि, साँच्चै हो भनेर पत्याउन कार्यकर्ता पनि आश्वस्त छैनन्, सर्वसाधारण पनि बिलखबन्धनमा छन् ।


चुनावी तालमेलका बारेमा गोरखाका कुनै पनि नेताले गह्रोगरी खुट्टा टेकेका छैनन् । भनेजस्तो भए गठबन्धन गरौँला, नभए सबैखाले बिकल्प खुल्ला छ भन्नेमा उनीहरु प्रस्ट छन् । आफै प्रस्ट नभएका जिल्लाका पार्टी प्रमुखहरु यस बारेमा के भन्छन् :


नन्दप्रसाद न्यौपाने, सभापति नेपाली कांग्रेस :


कुन दल ठुलो, कुन सानो भनेर मान्ने विधिमध्ये निर्वाचन एउटा हो । राष्ट्रिय रुपमा नै ठूला, साना दल भनेर चुनावको परिणामलाई आधार बनाएर हेरिन्छ । गोरखाका लागि हामी ठूलो दल हौँ । २०७४ को स्थानीय निर्वाचनमा हामीले ११ मध्ये ९ वटा पालिका जित्यौँ । ९४ मध्ये ४५ वडा जित्यौँ । यो अवस्थालाई हेर्दा हामी गोरखामा पहिलो पार्टी हो । यो कुरा अन्य दलका साथीहरुले पनि स्वीकार गर्नुपर्छ ।


अन्य पार्टी भन्दा संगठन पनि हाम्रो बिस्तार धेरै भएको छ । तर यो अवस्थालाई स्वीकार गर्न अन्य दलका केही साथीहरुलाई ‘अनईजी फिल’ भएको हो कि जस्तो लाग्छ ।


कसले कति सिट लिने भन्ने विषयमा छलफल अघि बढेको छैन । हामीले यसअघि जितेको अनुसार दावी गर्छौँ । त्यो स्वभाविक पनि हो । कसले कुन दिने, कुन लिने भन्ने बारे छलफलमा केही तलमाथि भएर टुङ्गिन पनि सक्छ । तर त्यो विषयले गठबन्धनमा प्रवेश नै पाएको छैन । यो विषयमा हामीले छलफल गर्न बाँकी छ । केन्द्रबाट पनि केही निर्देशन आउन सक्छ तर हामीले स्थानीय स्तरको आवश्यकता अनुसार पनि छलफल र निर्णय गर्न सक्छौँ ।


गोरखाको पार्टीको अवस्थाको बारेमा मैले केन्द्रीय सभापतिलाई जानकारी गराएर आइसकेको छु । नेपाली कांग्रेसको संगठन अनुसारको सिट बाँडफाँट तालमेल हुँदापनि पाउनुपर्छ भन्ने हाम्रो मान्यता हो । गठबन्धनका दलहरु बिच छलफल चलिरहेको छ ।


लेखबहादुर थापा, अध्यक्ष, नेकपा माओवादी केन्द्र :


गोरखामा अहिलेसम्म पाँच दलीय गठबन्धनको तीन वटा वैठक सम्पन्न भइसकेको छ । पहिलो वैठकले केन्द्रीय निर्णय अनुसार अगाडि बढ्ने, जिल्लाभित्र संयन्त्र निर्माण गर्ने र सबै दल बीच सुमधुर सम्बन्ध कायम गर्ने तथा कार्यकर्ताहरुले एक अर्कालाई आपसमा आरोप प्रत्यारोप नगर्ने नगराउने भनेर आफ्ना दलका नेता तथा कार्यकर्ताहरुमा अपिल गर्ने निर्णय भएको छ ।


दोस्रो वैठकले सबै राजनीतिक दलको आ–आफ्नो पार्टीको अवस्था बारेमा पार्टीको केन्द्रमा पठाउने निर्णय गरेको छ । तेस्रो वैठकले केन्द्रीय संयन्त्र वैठकको निर्णय अनुसार २०७४ सालको निर्वाचनमा जिल्लाका स्थानीयहरुमा प्राप्त गरेको मत संख्या जस्ताको तस्तै माथि पठायो । अवको आगामि वैठकमा जिल्लाका सबै वडा, पालिकाहरुमा कसरी विभाजन गरेर अगाडि बढ्ने भन्ने बारेमा छलफल हुन्छ ।


गोरखामा नेपाली कांग्रेस र माओवादीको मत बराबरी स्थितिमा छ । दुई÷चार भोट तल माथि हुनसक्छ । समानुपातिक रुपमा केन्द्रमा कांग्रेसको भोट बढि छ तर प्रदेशमा माओवादीको धेरै छ । त्यसैले हामीले पनि सात आठ पालिका दावी गरेका छौँ । हामी सबै दलसँग छलफल गरेर नै अघि बढ्ने तयारीमा छौँ ।


संविधानको रक्षा गर्न, प्रतिगामी शक्तिलाई पराजित गर्न गठबन्धन हुनुपर्दछ । यसमा पाँच दलीय गठबन्धन खुल्ला बहसका साथ सहमति गर्नुपर्दछ । दम्भ घमण्ड, अहंकार कसैले राख्नु हुदैन । सबै मिलेर जानुपर्छ ।


यानप्रसाद भट्ट, अध्यक्ष जनता समाजवादी पार्टी गोरखा :


गठबन्धनको तीनवटा बैठक बस्यो । अन्तिम बैठकमा हामीले जिल्लामा पार्टीको अवस्थाको बारेमा केन्द्रमा रिपोर्ट पठायौँ । केन्द्रले कसरी निर्देशित गर्छ भन्ने कुराले पनि अर्थ राख्छ ।


गोरखामा हामीले पालुङटार नगरपालिकाको मेयरसहित तीनवटामा प्रमुख र तीनवटामा उपप्रमुख माग गरेका छौँ । ९४ मध्ये २५ वटा वडा र हरेक वडामा सदस्य गरी एकसय जना दावी गरेका छौँ । यो अनुसार गठबन्धनमा हामीले हाम्रो प्रस्ताब राखेका छौँ । तर यो बारेमा कुरा अघि बढेको छैन ।


गोरखामा ठूला पार्टीले अडान लिएकाले यो विषय निर्णयमा पुग्न नसकेको हो । कांग्रेस माओवादी लगायतका दलहरुले आफुले यसअघि जितेको ठाउँ दावी गरेकाले गठबन्धनले सिट बाँडफाँड टुङ्ग्याउन नसकेको हो ।


अहिले हामी वडादेखि पालिकास्तरसम्मको उम्मेद्वार छनौट प्रक्रियामा छौँ । केही पालिकामा सर्वसम्मत हुन सकेको छैन । ती ठाउँमा पनि जिल्ला पार्टीको बैठकले यो महिना भरि टुङ्गो लगाउनेछ । भुगोल, क्षेत्र र पार्टीको अवस्था हेरेर हामीले दावी गरे अनुसारका विषयमा छलफल गर्न हामी तयार छौँ । तर ठूला दलहरु टसमस हुने अवस्था देखिँदैन । त्यो भएर गठबन्धनको छलफल अघि बढेको छैन ।


यादब बस्नेत, अध्यक्ष, नेकपा एकीकृत समाजवादी :


गठबन्धनको बारेमा हामी छलफलमै छौँ । तेस्रो बैठकसम्म आईपुग्दा आ–आफ्नो धारणा र संगठनको अवस्थाबारे छलफल भयो । केन्द्रबाट गठबन्धन दलहरु भन्दा बाहिर तालमेल नगर्ने भन्ने विषय छ । हामी कसरी गठबन्धन गर्ने भन्नेमा योजना बनाउँदैछौँ ।


गोरखामा नेकपा एसले आफ्नो स्थानमै बसेर उचित मागदावी गर्छ । त्यो दावीलाई गठबन्धनका दलहरुले संवोधन गर्छन् भन्ने लागेको छ । शक्ति सन्तुलन के छ भन्ने बारेमा गोरखामा सबैलाई थाहा छ । गठबन्धनको मर्म र भावना भनेको नै त्यहाँभित्र रहेका दलहरु एकले अर्कोलाई सहयोग गरेर जाने भन्ने हो ।


गठबन्धन हुन्छ भन्ने मलाई विश्वास छ । गठबन्धन नगर्नुपर्ने कुनै कारण नै छैन । कांग्रेसले धेरै ठाउँ जितेको छ उसले ती ठाउँ नछाड्ने भन्न सक्छ । उसको दावी हुन सक्छ । दोस्रोमा माओवादीले केही ठाउँमा जितेको छ । उसको पनि दावी हुन सक्छ । तर अन्य जिल्लाको अवस्थालाई पनि हेर्नुपर्छ । गोरखामा कांग्रेसले धेरै जितेकाले गठबन्धनले कांग्रेससंँग माग्नुपर्ने जस्तो देखिएला तर गण्डकी प्रदेशका अन्य धेरै जिल्लामा एमालेले जितेको छ । एमालेबाट हामी छुट्टिएर आएका हौँ । गठबन्धनमा एमाले नभएकाले अब ती जिल्लामा नेकपा एससँग अन्य दलले माग्नुपर्ने अवस्था आउन सक्छ ।


एकले अर्कालाई सहयोग गरेर सहमतिमा गयौँ भने समस्या हल हुन्छ । हामी सबै गठबन्धनका दलले संयोजनको भूमिका खेल्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्