| सोमवार, असार १३, २०७९

गोरखामा सुन्तला र तरकारी उत्पादन क्षेत्रको माटोमा अम्लियपन धेरै

गोरखाको सुन्तला र तरकारी उत्पादन हुने क्षेत्रको माटोमा अम्लियपन धेरै देखिएको छ । प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाले गोरखा नगरपालिका, गण्डकी गाउँपालिका, शहीदलखन, सिरानचोकलगायत बिभिन्न ठाउँका किसानबाट संकलित माटो जाँच गर्ने क्रममा अम्लियपन धेरै भेटिएको हो ।

‘हामीले एक सय ५० जनाले ल्याउनुभएको माटो जाँच ग¥यौँ’ माटो परीक्षण प्रयोशालाबाट आएका प्राविधिक सहायक खुबराज बरालले भने ‘यहाँ अधिकांश माटोमा अम्लियपन देखियो, माटो बिरामी छ ।’ माटोमा अम्लियपन धेरै हुँदा उत्पादन बढाउन राखिएको मल खेतीबालीले लिन सक्दैन । मल माटोमा मात्र रहने प्राविधिकहरु बताउँछन् ।

‘यहाँको माटोमा फस्फोरसको मात्रा कम पाईयो’, प्राविधिक सहायक बरालले भने, ‘सबै किसानलाई माटो कस्तो रहेछ भन्ने रिपोर्ट दिएका छौँ । कसरी उपचार गर्न सकिन्छ भन्ने पनि सुझाएका छौँ ।’

माटोमा पोटास, फस्फोरस, नाईट्रोजन, प्रोटिनको मात्रा के कस्तो रहेछ भनेर जाँच गरिएको हो । परीक्षणमा पोखराबाट आएका ६ जनाको टोली सहभागी थिए । माटो परीक्षण गर्ने मोवाईल गाडी ल्याएर किसानबाट माटोको नमूना संकलन गरी सदरमुकाममै आईतबार र सोमवार जाँच गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्