| शनिबार, बैशाख ८, २०८१

सत्ता र शक्तिको दुरुपयोग : दरौँदी नदीमा सडक नै नभएको ठाउँमा पुल ?

गोरखाको दरौँदी नदीमा आठवटा मोटरेबल पुल छन् । सातवटा पुललाई वारि र पारि सडकले जोडेको छ, तर जरेबरमा हालसालै एउटा यस्तो पुल बनेको छ, जसको न वारि सडक छ न पारि ।
पुलको वारि जीपमा हराभरा धान रोपिएको खेत छ, पारि जीपमा ठूलो पहरा अनि घना जंगल छ ।


सडकै नभएको ठाउँमा मोटरेबल पुल बनेको भन्दै स्थानीयबासी पनि चकित छन् । मन्त्रीले सत्ता र शक्तिको दुरुपयोग गर्दै सडक नभएको ठाउँमा पुल बनाएको भन्दै लाभान्वित हुने स्थानीयबासीले समेत आलोचना गरेका छन् ।


‘हचुवाका भरमा के गरेको यो ? यत्रो सरकारी सम्पत्ति त्यस्सै खेरा जाने भएन त ?’, स्थानीय गणेशकुमार नगरकोटी भन्छन्, ‘न बाटो, न घाटो हचुवाको भारमा राज्यको सम्पत्ति दुरुपयोग गर्न हुन्छ ? बाटो चाहिन्छ कि चाहिन्न ? पुल चाहिन्छ कि चाहिन्न भनेर यहाँका जनतालाई एकपल्ट सोधनी गर्नु पर्छ कि पर्दैन ? ल हेर्नु त मान्छे हिँड्नलाई यहीँ झोलुंगे पुल छ । उ त्यहाँ माथि पनि अर्को पुल छ । अल्लिकति तल पनि अर्को पुल छ । ठामठामै पुलै पुल थापेर के गरेको यो ?’ रोड नभएको ठाउँमा तमासा गरेको भन्दै स्थानीयबासीले बिरोध गरेको उनले बताए ।
गण्डकी प्रदेशका तत्कालीन भौतिक पूर्वाधार मन्त्री रामशरण बस्नेतले आफू मन्त्री हुँदा आफ्नै बेशीको खेतमा सो पुल निर्माण गरेका स्थानीयबासीको आरोप छ । मन्त्रालयको पाँच करोड उनान्चालीस लाख असी हजार लागतमा सो पुल बनेको हो ।


५० मिटर लामो सो पुल निर्माणका लागि एचटिसी, गोसाइँकुण्ड, आइएस निर्माण सेवा जेभीले पूर्वाधार विकास कार्यालयसँग २०७७ जेठ १३ गते ठेक्का सम्झौता गरी काम सुरु गरेको सूचना अधिकारी अजय श्रेष्ठले जानकारी दिए । गत जेठ १२ गतेभित्र निर्माण सम्पन्न भइसक्नु पर्ने भए पनि पुल निर्माणको सबै काम सम्पन्न भइसकेको छैन ।


पुल बने पनि सडक कहाँ बनाउने भन्ने निश्चित नभएको अर्का स्थानीय सीताराम सुनार बताउँछन् । ‘पहिले मोटरबाटो बनेर पुल बनेको भए सुल्टो हुन्थ्यो । तर पहिले पुल बनाएर अब रोड कहाँ बनाउने ? यहाँका मोहियाहरु जग्गा दिन्नौँ भन्छन्’, सुनार भन्छन्, ‘उ पारि देखिहाल्नु भा’छ पहरो छ । बाटो बना’छैन । यता वारिपट्टि भात खाने खेत छ । पहिले बाटो बनाएर पुल बनाइदिया भए पो विकास, निकासै नभएको विकास के विकास ।’ सोच विचार नगरी, राय सल्लाह नगरी काम भएको उनको गुनासो छ ।


सरसल्लाह नगरी पुल बनाउँदा अब सडक कहाँबाट खन्ने भन्ने अन्यौलता बढेको गणेश नगरकोटीको भनाइ छ । ‘यो पुल यत्तिकै रहन्छ जस्तो लाग्छ मलाई’, उनी भन्छन्, ‘रोड खन्न जनता नमानेपछि के गर्ने त ? कि जनतालाई पेल्नु प¥यो, मार्दिनु प¥यो । पुलको मुखमा कुमाल बुढोको जम्मा दुई मुरी, ५० पाथी धान आउने खेत छ । त्यै पनि छोराले अरबबाट पठाएको पैसाले किनेको । त्यै पनि रोडले खाइदियो भने बिचरो त्यो कुमाल बूढो पसारो परेर रोइदिन्छ । हचुवाको भरमा काम गर्दा सर्खारलाई पनि घाटा पर्छ नि ।’ सर्वपक्षीय भेला गरी समिति बनाएर मात्र काम थाल्नुपर्नेमा मन्त्रीको एकल निर्णयमा काम भएको भन्दै स्थानीय आक्रोशित छन् ।


पूर्वमन्त्री बस्नेतको घलाङस्थित घरबाट उनको खेतसम्म लैजाने गरी तीनबर्षअघि नै कच्ची सडक निर्माण गर्न सुरु भएको थियो तर सडक दरौँदीसम्म आइपुगेको छैन । सो बाटोमा मान्छे पनि नहिँड्ने गरेको अर्का स्थानीय मीनबहादुर तामाङ बताउँछन् । ‘घलाङबाट यतातिर झार्ने गरी कच्ची बाटो खन्न थालेको दुई पुगेर तीनबर्ष लागेको छ’, उनी भन्छन्, ‘तर त्यो बाटो अर्थहीन छ, किनभने त्यो बाटो र यो पुल आकास पातालको फरकमा छ । पुल एकातिर, रोड अर्कातिर छ । अब वारिपट्टिको कुरा गर्ने हो भने यहाँ रोड कता खन्ने हो थाहा पत्तो छैन ।

यदि पुलको मुखको खेतमा किसानले रोड बनाउन दिएनन् भने यो पुलको हालत के होला ? सरकारी सम्पत्ति त्यस्सै खेर गएन ?’ खेतका मोहियाहरु सबै छलफल गरेर कहाँनेर रोड खन्ने, कहाँनेर पुल बनाउने भन्ने निश्चित गरेपछि मात्र पुल निर्माणको काम सुरु गरेको भए यस्तो तमासा नहुने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्