| शुक्रबार, बैशाख ७, २०८१

३०१ औँ पृथ्वी जयन्तीको पूर्वसन्ध्यामा गोरखा बजार झिलिमिली(फोटो फिचर)


नेपाल एकीकरणको जग तथा राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको जन्मस्थल गोरखामा यसबर्ष ३०१ औँ पृथ्वीजयन्ती धुमधामले मनाइने भएको छ । पृथ्वीजयन्तीको पूर्वसन्ध्यामा मंगलबार गोरखा बजार तुल व्यानर, ध्वजा पताकाले झिलिमिली बनाइएको छ ।


पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाउन यसबर्ष नेपाल सरकारले सार्वजनिक विदासमेत दिएको छ ।


यतिबेला गोरखा सदरकामुकाको ठूलो आँगनमा इतिहास झल्किने विभिन्न खालका तस्बिरहरुले सजाइएको छ । पुरानो बजार भनेर चिनिने ठूलोआँगन, पँदेली, छहरे, तीनधारे, पुरानो बसपार्क, विपिचोक क्षेत्रमा नेपाल एकीकरणका क्रममा भएका घटनाक्रम स्मरण गराउने तस्वीरहरुले सजाइएको छ । साथै नेपाल एकीकरणका क्रममा पृथ्वीनारायण शाह तथा उनका सेनाले प्रयोग गरेको हातहतियारका तस्बिरहरु पनि सजाइएको छ ।


पुस २७ गते, बुधबार, राष्ट्रिय एकता दिवसको अवसरमा गोरखा ठूलोआँगनमा झण्डोत्तोलन तथा विगुलद्वारा विजय ध्वनिसहित ‘राष्ट्रनिर्माता सलामी’ अर्पण कार्यक्रमको उद्घाटन हुँदैछ । साथै त्यहाँ गोरखा नगरपालिकाले निर्माण गरेको पृथ्वीनारायण शाहको सालिक अनावरण कार्यक्रम पनि हुँदैछ ।

सालिक र राष्ट्रनिर्माता सलामीको उद्घाटन विशेष समारोहका बीच प्रधानसेनापति प्रभुराम शर्माले गर्ने कार्यक्रम रहेको छ ।


प्रधानसेनापतिबाट उद्घाटन भएपछि हरेक दिनको सूर्योदय र सूर्यास्त समयमा नेपाली सेनाको गुरुज्यूको पल्टनले ‘राष्ट्रनिर्माता सलामी’ दिने कार्यक्रम सञ्चालन हुनेछ ।


सो अवसरमा हरमटारीदेखि ठूलोआँगनसम्मको सडकको दायाँबायाँ नेपाल एकीकरणको सुरुवात विन्दुदेखि आधुनिक नेपाल निर्माणको जगसम्मको इतिहासको नक्सा विवरणसहित क्रमश तस्वीरहरु सजाइएको छ ।


गोरखानगरपालिका र नेपाली सेनाको रिपुमर्दन गणको संयुक्त आयोजनामा इतिहासलाई जर्गेना तथा प्रवद्र्धनका साथै पर्यटन क्षेत्रलाई उजागर गर्नका लागि यो कार्यक्रम सुरु गर्न लागेको हो ।


साथै पुस २७ गते नै पृथ्वीजयन्तीको अवसर पारेर बिगत २०५४ सालदेखि आयोजना हुँदै आएको ‘गोरखा महोत्सव’ पनि हुँदैछ । महोत्सवको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गर्ने कार्यक्रम रहेको छ ।

प्रस्तुति : शिव उप्रेती/ केशव गुरुङ

प्रतिक्रिया दिनुहोस्