
स्टल खाली भएपछि गोरखा महोत्सवमा फेन्सी राखेर भर्न थालियो
११ औँ गोरखा महोत्सवलाई नयाँ र फरक ढंगले संचालन गर्ने घोषणा गरेको गोरखा उद्योग बाणिज्य संघ आफ्नै निर्णयबाट पछि हटेको छ ।
कृषि पर्यटन र औद्योगिक ब्यापार मेला नाम दिएर सुरु भएको ११ औँ गोरखा महोत्सव स्थलमा ‘फेन्सी’ का कुनैपनि स्टल नरहने संघका अध्यक्ष कृष्णकुमार श्रेष्ठले महोत्सवबारे जानकारी दिन आयोजना गरिएको पत्रकार सम्मेलनमा जानकारी गराएका थिए । ‘यस पटक हामीले पहिले भन्दा नयाँ गर्न लागेका छौँ, कृषि, घरेलु उत्पादनलाई प्राथमिकता दिने र फेन्सीको एउटापनि स्टल नराख्ने भनेका छौँ’ पत्रकार सम्मेलनमा उनले भनेका थिए ‘यसले हाम्रा फेन्सी ब्यवशायीलाईपनि राहत हुने अपेक्षा हाम्रो छ ।’
उद्योग बाणिज्य संघ आफैँले गरेको घोषणा महोत्सव सुरु भएको दुई दिन पनि टिकेन । फेन्सी नराख्दा स्टल खाली भएको भन्दै उद्योग बाणिज्य संघले शुक्रवारदेखि फेन्सीलाईपनि स्टल बिक्री गरेको छ । संघको ४० भन्दाबढि स्टल बिहिवार खाली थियो । शुक्रवार कपडा, जुत्ता लगायतका फेन्सी सामग्री स्टलमा देखिएको थियो । महोत्सव घाटामा जाने, स्टल खाली रहने भन्दै संघ भित्र फेन्सी राख्ने नराख्ने विषयमा मत बिभाजन भएको थियो । अन्ततः फेन्सी सामग्रीको स्टल दिनदिनै बढ्दो छ ।
फेन्सी तथा कपडा ब्यवशायीले महोत्सव स्थलमा फेन्सी सामग्री नराख्न अनुरोध गरेसँगै संघले ब्यवशायीलाई खुसी पार्न पहिले फेन्सी नराख्ने निर्णय गरेको थियो । संघका अध्यक्ष कृष्णकुमार श्रेष्ठले फेन्सी नराख्दा स्टल खाली हुने, महोत्सवको रौनक नहुने भएपछि फेन्सी राखिएको बताए । ‘हामी आफ्नै निर्णयबाट पछि हट्नुप¥यो’ उनले भने ।
महोत्सवमा केही कृषिमा स्टल छन् । घरेलु उत्पादनका स्टल, बिभिन्न पालिकाको पहिचान झल्कने स्टल संघले घोषणा गरे अनुसार छैनन् । महोत्सवमा दर्शकको संख्या पनि बिगत भन्दा कम रहेको आयोजक उद्योग बाणिज्य संघले जनाएको छ । बिहिवार पातलो दर्शक रहेको महोत्सव शुक्रवार भने केही थपिएका थिए ।