
गोरखा आत्मानिर्भर हुनेगरी उत्पादनमा जोड दिऔँ : नेता पाण्डे
नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं गण्डकी प्रदेशका प्रतिपक्ष दलका नेता सुरेन्द्रराज पाण्डेले गोरखा जिल्लालाई आत्मनिर्भर बनाउन उत्पादनमा जोड दिनुपर्ने बताएका छन् ।
शनिवार ११ औँ गोरखा महोत्सवको समापन गर्दै उनले भने ‘हरेक क्षेत्रलाई आर्थिक उत्पादन सँग जोड्नुपर्छ, तपाईसबै ब्यवशायी त्यसतर्फ लाग्नुहोस् म यहाँको जनप्रतिनिधिको हिसाबले के गर्नुपर्छ, के गर्न सक्छु त्यो हामी गर्छौँ ।’
उद्योग र बाणिज्य क्षेत्रबाट आर्थिक समृद्धी संभव भएको बताउँदै उनले हरेक नागरिक आर्थिक रुपमा सक्षम भएमात्र जिल्ला र देशको अर्थतन्त्र पनि बलियो हुने बताए ।
रोजगारीकालागि धेरै युवाहरु बिदेशिनुपरेको बाध्यात्मक अवस्थालाई कम गर्न जिल्लामै रोजगारीको अवसर सिर्जना गर्ने भुमिकामा उद्योगी ब्यवशायी लाग्नुपर्ने उनले बताए । गोरखामा बाहिरको उत्पादन ल्याएर बिक्री गर्ने केन्द्र मात्र नभई यहाँको उत्पादन बाहिर पठाउने गरी उद्योगी ब्यवशायीले काम गर्नुपर्ने उनले बताए ।
मेला महोत्सवले मनोरञ्जन साथै आर्थिक गतिविधीलाई चयलायमान बनाउने बताउँदै उनले ब्यवशायीक फाईदा पुग्ने गरी संचालन गर्नुपर्नेमा जोड दिए ।