
गोरखा नगरपालिकाको डोजर माओवादी पार्टी कार्यालय बनाउन प्रयोग
गोरखा नगरपालिकाको डोजर माओवादी केन्द्रको पार्टी कार्यालय निर्माण स्थलमा जग्गा तयार गर्न तीन दिनदेखि प्रयोग हुँदै आएको छ ।
नगरपालिकाले बिपद् र बिकास निर्माणका काममा प्रयोग गर्ने भनेर खरिद गरेको डोजर पार्टी कार्यालय बनाउन प्रयोग भएपछि गोरखा नगरपालिकाको चौतर्फी आलोचना भएको छ । गोरखा नगरपालिका ६ पाटेचौरमा माओवादी केन्द्रको कार्यालय परिसरमा नगरपालिकाको डोजरले काम गरिरहेको स्थानीयले बताए । ‘११ घण्टा त काम गरिसक्यो’ एक कर्मचारीले भने ‘आईतवारपनि काम छ, जग खन्न बाँकी छ ।’
डोजर माओवादी पार्टी कार्यालयमा प्रयोग भएको विषयमा गोरखा नगरपालिकाका प्रमुख प्रशासकिय अधिृकत ज्ञाननाथ ढकालले आफुलाई त्यस विषयमा केही थाहा नभएको बताए । उनी केहीदिनदेखि काठमाण्डौँमा छन् । डोजर प्रयोग गर्न नगरपालिकामा कसैले माग गरेको वा निवेदन दिएको छैन ।
नगरपालिकाले डोजर प्रयोग गर्दा वडा वा नगरका प्राविधिकको स्टमेट अनिवार्य गरेको छ । स्टमेटपछि निर्णय गरेर मात्र डोजर पठाईन्छ ।
नगरप्रमुख कृष्णबहादुर राना मगरले शहीद स्मृती भबन निर्माणकालागि डोजर सहयोग गरिएको बताए । पार्टीको शहीद स्मृती भबन बन्न लागेको र प्रदेश सरकारबाटपनि बजेट बिनियोजन भएकाले नगरपालिकाको तर्फबाट निशुल्क डोजर सहयोग गरेको उनले बताए ।
पार्टी कार्यालय निर्माणमा सरकारी बजेट बिनियोजन गर्न नपाउने भएपछि राजनीतिक दलहरुले शहीद र बिभिन्न स्मृती प्रतिष्ठानका नाममा भबन निर्माण गरेर पार्टी कार्यालय संचालन गर्ने गर्छन ।