| बिहिबार, मंसिर २१, २०८०

प्रथम अन्तर्राष्ट्रिय पर्वतारोहण गाइड सुनार गुरुङ सम्मानित

नेपाल पर्वतारोहण संघले ३३ औं वार्षिक साधारण सभाको अवसरमा गोरखा, लाप्राकका सुनार गुरुङलाई सम्मान गरेको छ ।

नेपालका प्रथम अन्तर्राष्ट्रिय पर्वतारोहण पथ प्रदर्शक गुरुङलाई बिहिबार राजधानीमा आयोजित कार्यक्रममा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सम्मान गरेका हुन् ।


‘तपाईँ नेपालकै प्रथम अन्तर्राष्ट्रिय स्तरको पर्वतारोहण पथप्रदर्शक बन्नु मुलुककै लागि उल्लेखनीय उपलब्धी हो, त्यसैले तपाईँलाई सम्मान गरिएको छ’, सो सम्मान पत्रमा भनिएको छ, ‘पर्वतारोहणको क्षेत्रमा तपाईंको समर्पण, सीप र अटल प्रतिबद्धताले यस समुदायका लागि गौरव मात्र ल्याएको छैन, नेपालको पर्वतारोहण विरासतलाई विश्वव्यापी मञ्चमा अगाडि बढाउन महत्वपूर्ण योगदान पु¥याएको छ ।

तपाईंको असाधारण यात्रा सबै महत्वाकांक्षी पर्वतारोहीहरूको लागि प्रेरणाको रूपमा काम गर्दछ । तपाईंका उपलब्धीहरूले नेपाली पर्वतारोहीहरूको अदम्य मनोभाव मात्र देखाउँदैनन, पर्वतारोहणको विश्वमा नेपालको गर्विलो स्थानलाई बलियो बनाएको छ ।’ नेपालको पर्वतारोहणको क्षेत्रमा उनले दिएको योगदान भावी पिँढीका लागि पनि अनुकरणीय रहेको भनिएको छ ।
सो समारोहमा पर्यटन मन्त्री सुदन किराँती, नेपाल पर्वतारोहण संघका अध्यक्ष निमा नोर्बु शेर्पा, संघका महासचिव मोहन लम्साल लगायतले गुरुङले पर्वतारोणका क्षेत्रमा पु¥याएको योगदानको प्रसंसा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्