| शनिबार, कार्तिक १७, २०८१

मनास्लुको चुलीमा चम्कियो मनास्लु स्याउ


विश्वको आठौँ अग्लो मनास्लु हिमालको शिखर चुमेकी सामागाउँकी नाङ्साल छोदेनले हिमशिखरमा मनास्लु स्याउको झण्डा फहराएकी छिन् । आइतबार बिहान सवा छ बजे ८,१६३ मिटर अग्लो हिमशिखरको सफल आरोहण गरेकी उनले स्थानीय कृषि उत्पादनलाई बढवा दिने उद्देश्यले हिमशिखरमा मनास्लु स्याउको ध्वजा फहराएकी हुन् ।


‘हाम्रो मनास्लु क्षेत्रमा उत्पादन हुने स्याउलाई विश्वमा परिचित गराउन मैले हिमशिखरमा मनास्लु स्याउको झण्डा फहराएको हुँ’, उनले छेदेनले भनिन्, ‘मनास्लु क्षेत्रमा उत्पादन हुने स्याउलाई मनास्लु स्याउ भनेर गाउँपालिकाले पनि ब्राण्डिङ गर्ने निर्णय गरेको हुँदा मैले मनास्लु स्याउलाई महत्व दिएको हुँ ।’ मनास्लु ब्राण्ड कुनै खास कृषि फारामको मात्र उत्पादन नभै मनास्लु क्षेत्रमा उत्पादन हुने सबै स्याउको ब्राण्ड भएकाले यसलाई विश्वमा चिनाउन खोजेको उनको भनाइ छ । कुनै व्यक्तिगत लाभका लागि नभै आफ्नो क्षेत्रको उत्पादनलाई लोकप्रिय बनाउने भावनाले यसो गरेको उनले बताइन् ।


चुमनुब्री गाउँपालिकाको गत असार १० गते सम्पन्न गाउँसभाले मनास्लु क्षेत्रमा उत्पादन हुने स्याउलाई मनास्लु स्याउको नामले ब्राण्डिङ गर्ने निर्णय गरेको थियो ।


आठ हजार मिटर अग्लो हिमालको शिखरबाट कृषि क्षेत्रको प्रवद्र्धन गर्ने उनी पहिलो महिला आरोही बनेकी छिन् ।
उनले आफ्नो चुमनुब्री गाउँपालिकाको व्यानरको पनि हिमशिखरमा तस्वीर खिचाएकी छिन् । कसैबाट आर्थिक लाभ लिएर नभै निस्वार्थ भावले आफ्नो गाउँपालिकाको नामलाई सम्मानका साथ उचाइमा पुर्याउन गाउँपालिकाको ब्यानर हिमशिखरमा पु¥याएको उनको भनाइ छ ।


मनास्लुको फेदी, सामागाउँकी २५ बर्षीया नाङ्साल छोदेनले आइतबार बिहान विश्वको आठौँ अग्लो मनास्लु हिमालको सफल आरोहण गरेकी हुन् ।


४,८०० मिटर अग्लो बेसक्याम्पबाट सरासर २५ घण्टा हिडेर ८,१६३ अग्लो मनास्लुको सफल आरोहण गरेको उनले बताइन् । बिना तालिम बिना बिश्राम सरासर हिडेर मनास्लुको शिखर चुमेको उनले बताइन् ।


मनास्लु आरोहण गरेर सानैदेखिको सपना पूरा गरेको उनले बताइन् । ‘म सामागाउँको एउटा सानो होटलमा काम गर्ने गर्थेँ । सिजनमा मनास्लु चढ्न आउनेहरुको सामागाउँमा खचाखच भिड लाग्थ्यो । कहाँ–कहाँदेखि आएर चढेर जान्छन्, आफ्नै गाउँको हिमाल भएर पनि चढ्न नपाएर मनमा नरमाइलो लागेको थियो’, उनले भनिन्, ‘धेरै खर्च लाग्छ होला, धेरै तयारी गर्नुपर्छ होला, हामी खर्च पनि गर्न नसक्ने, पढाइलेखाइ पनि नभएको मान्छे, नेपाली भाषा बोल्न पनि नजान्ने मान्छे, मनको कुरा कसैलाई भन्न सकेको थिइन । पायोनियर कम्पनीको बोस मिङ्मार दोर्जेले हिमाल चढ्ने भए जाम भन्नुभयो । जुत्तादेखि चस्मासम्म सबै बोसहरुले सहयोग गर्नुभएको हो ।’


शनिबार बिहान साँढेपाँच बजे बेसक्याम्पबाट निस्केर आइतबार चुचुरोमा पुगेको उनले बताइन् । ‘केही प्राक्टिस पनि गरेको छैन । बेसक्याम्पबाट गएर क्याम्प थ्रीमा तीनघण्टाजति रेस्ट गरेको हो । त्यसपछि रेस्ट पनि गरेको छैन । दिनभरि, रातभरि हिडेर टपमा पुगेको हो’, उनले भनिन्, ‘टपमा पुगेपछि सपना पूरा भयो भनेर धेरै बेरसम्म रोएँ ।’


आफ्नै गाउँको हिमाल चढ्नुबाहेक अरु ठूलो सपना केही नभएको उनको भनाइ छ ।


वसन्त ऋतुको सिजनमा सबैभन्दा धेरै आरोही सगरमाथामा हुने गरे पनि सरदको सिजनमा सबैभन्दा धेरै आरोहीले मनास्लु आरोहण गर्ने गर्दछन् । यसबर्ष पर्यटन विभागबाट ३९५ जनाले नेपालका विभिन्न हिमाल आरोहणको अनुमति लिएकामध्य मनास्लु आरोहणका लागि ३०१ जनाले अनुमति लिएका छन् । २३ जनाले धौलागिरी, १० जनाले अमादब्लम, पाँचजनाले चोयू र चारजना मकालु आरोहणका लागि अनुमति लिएका छन् । हिमाल आरोहणबाट तीनकरोड ९९ लाख ६६ हजार राजस्व संकलन भएकामा मनास्लु आरोहणको अनुमतिबापत तीन करोड ३७ लाख ४० हजार रुपैयाँ राजस्व संकलन भएको विभागले जनाएको छ ।


फोटो : मिङ्मार छिरिङ लामा ।

प्रतिक्रिया दिनुहोस्