| बिहिबार, मंसिर २०, २०८१

इतिहासमा नलेखिएको पाँच चिहान

लेखनाथ देवकोटा :

प्राकृतिक सुन्दरताले पूर्ण, ऐतिहासिक दृष्टिले महत्वपूर्ण लिगलिगकोट गोरखा सदरमुकामबाट लगभग २७ कि.मी दूरी र समुद्री सतहबाट करीव १४३७ मि. उचाइमा अवस्थित छ ।

चेपे र मस्र्याङ्दी नदीको दोभानबाट उत्तर पूर्वतिर हरियो पछ्यौरीको दोसल्ला ओडेर क्षितिजसंग मित लाएजस्तो देखिने अत्यन्तै मनमोहक यस टाकुराबाट चारैतिर हेर्दा सबैभन्दा अग्लो ठाउँमा आईपुगेछु जस्तो अनुभव हुन्छ ।

सामान्य तापक्रम जहाँ पसिनाले निथ्रुक्क भिजेर थाकेका पर्यटकहरुलाई पनि सरर चलेको चिसो सिरेटोले पानीको प्यास मेटाउँछ, आँत हरर्र बनाउँछ ।

यस ठाउँमा हरेक वर्ष विजयादशमीको दिन राजा छनौट गर्ने प्रतिस्पर्धात्मक परम्परा अनुसार घलेहरुबीच दौड प्रतियोगिता हुन्थ्यो र दौडेर जित्ने मान्छे एक वर्षको लागि लिगलिग कोटको राजा हुन्थ्यो । चेपेघाट, चेपे र मस्र्याङ्दी नदीकोको दोभानबाट करीव ५ कि.मि. उकालो बाटो दौडेर प्रथम हुने व्यक्ति एक वर्षको लागि राजा हुने चलन थियो ।

लिगलिगका घलेहरु एक महिना अघिदेखि तिघ्रामा घिउ घसेर राजा हुनको लागि तयारी गरेर वस्थे भन्ने किम्वदन्ती छ ।
यो कुरा थाहा पाएर लमजुङ्गका राजा यशोब्रम्ह शाह तथा माता वसन्तावतीकी दोस्रो सन्तान द्रव्य शाहलाई राजा हुने इच्छा लाग्यो र सांगठनिक शक्ति सहित वैधानिक शक्ति प्राप्त गर्ने कुटनैतिक योजना सहित वि.सं. १६१५ को विजयादशमीकोे दिन दौडमा भाग लिन अघि बढे ।

गैह् स्थानीय, त्यो पनि आफ्नो समुदायभन्दा फरक व्यक्ति लिगलिगे घलेहरुलाई स्वीकार्य भएन र उनीहरुले दौडमा समावेश नगर्ने निर्णय गरे । राजा भएरै छाड्ने अठोट लिएर सैनिक शक्ति सहित गएका द्रव्यशाहको अगााडि घलेहरुको केहीसिप चलेन, उनीहरुको ओठतालु सुक्यो ।

यतिका घलेहरुको बीचमा राजाको छोरो सुखसयलमा हुर्केको त्यसमा पनि दुब्लो, पातलो, हेर्दै ख्याउटे देखिने यस्ताले के दौड जित्ला ? कोही घलेहरु यस्तै तर्क गर्दै थिए । विवादका वावजुद अन्त्यमा द्रव्यशाहलाई पनि दौडमा सामेल गराउने निर्णय गरियो ।

वास्तवममा द्रव्यशाह निश्पक्ष दौडमा प्रतिस्पर्धा गरेर राजा हुने योजनाले गएका थिएनन् । उनी त राजकीय शक्तिकोे चरम फाइदा लिएर शक्ति आर्जन गर्ने कुटनैतिक उद्धेश्यकासाथ गएका थिए ।

झण्डै ५ कि.मी. को उकालो, जङ्गलको बाटो द्रव्यशाहले पूर्वयोजना बमोजिम लगभग दुइतिहाइ बाटो पार गरेपछि आफूभन्दा अघि आइपुग्ने सवैलाई मार्नकोलागि गोप्यरुपमा शसस्त्र सिभिल सैनिकहरु तयार गरेका थिए । उनका अगाडि जतिजना धावकहरु पुग्थे ती सवैलाई मारेर भिरबाट खसालिदिन्थे ।

पाँच जनालाई मारेपछि छैटौं धावकका रुपमा उनी आफैँ भएकोले द्रव्यशाहलाई प्रथम बनाइयो । राजनीतिमा जो चतुर हुन्छ उसले सत्ताको स्वाद लिन्छ भनेझैं आफ्नो षड्यन्त्र र चतु¥याँइले गर्दा लिगलिगकोटको राजा भएरै छाडे । इतिहास जित्नेको पक्षमा लेखिन्छ भने हार्नेहरु ह्दयमा सत्य लुकाएर असत्यलाई सही थाप्न बाध्य हुन्छन् ।

उनी राजा बनेपछि दौड जितेर राजा बन्ने परम्पराको अन्त्य गरे । उनलाई सहयोग गर्ने भारदारहरु गणेश पाण्डे प्रथम काजी (प्रधानमन्त्री), भागीरथ पन्त प्रथम सेनापति, नारायण अर्याल राजगुरु, सर्वेश्वर खनाल पुरोहित, केशव बोहोरा राजश्व अधिकारी बनाइए भने अन्य भारदारहरु गङ्गाराम राना, मुर्ति खवास आदिको नाम मात्र ईतिहासमा भेटिन्छ ।

यो ठाउँ हाल पालुङ्गटार नगरपालिका वार्ड नं ३ मा पर्दछ र त्यस घटनाको स्मरण स्वरुप हिँजोआज पनि पाँच चिहान नामले प्रशिद्ध छ । गाउँका बूढापाकाहरु आफ्ना पुर्खाहरुबाट घटनाको बारेमा सुन्दै आइरहेको वताउँछन् ।

त्यस ठाउँको वरिपरि हालसम्म स्थानीयहरुको बसोवास छैन भने लामो समयसम्म त्यस ठाउँमा खेतीपाती नगरिएको स्थानीय जानकारहरु बताउँछन् । आफूले पाँचवटा चिहानका अवशेषहरु स्पष्ट देखेको कुरा स्थानीय ८९ वर्षीय निवृत्त शिक्षक कृष्णविनोद देवकोटा वताउनु हुन्छ ।

भाइले आफ्नो शक्ति विस्तार गरेको देखेर लमजुङ्ग राइनासका राजा नरहरि शाहले ईष्र्या गर्न थाले । जेठो छोरा राजा हुने परम्परा अनुसार भाइले मेरै सरदारको रुपमा लिगलिगकोट कब्जा गरेकाले भाइले आर्जेका सवै राज्यहरु आफ्नो हुने र आफँै राजा हुनुपर्छ भन्ने उनको भनाइ थियो ।

आफूले पैतृक सम्पत्ति दावी नगरेकोले आफूले आर्जेको राज्य आफ्नै हुनुपर्छ भन्ने भाइकोभनार्इ थियो । डाह बढ्दै गएपछि दाजुभाइ विचमा दुश्मनी बढ्दै गयो । नरहरि शाहले बाबुको श्राद्धको लागि निम्ता दिएर द्रव्यशाहलाई मार्ने योजना वनाए तर यो षड्यन्त्र भाइभारदारहरुले पहिले नै थाहा पाई उनलाई बचाए । मार्ने पटक पटक प्रयास गरे पनि असफल भए तर द्रव्यशाह भने आफ्नो क्षेत्र विस्तारमा तल्लीन रहिरहे ।

उता दाजु–भाइको झगडाले अत्यन्तै चिन्तित आमा वसन्तावतीले दुवै छोराहरुलाई सिमानामा पर्ने चेपे नदीको किनारमा बोलाएर भनिन् – बाबुहो मैले तिमीहरु दुवैलाई दूध चुसाएर हुर्काएँ, बढाएँ तर अहिले तिमीहरु आपसमा मिल्न सकेनौ, आ-आफ्नै स्वार्थको लागि झगडा गरिरहन्छौ ।

म त डाँडामाथिको जून, एकदिन अस्ताइहाल्छु । तिमीहरुले यो नदी कहिल्यै नतर्नु र आपसमा कहिल्यै झगडा नगर्नु भनी चेपे नदीमा आफ्नो स्तन बगाएर सधैंको लागि अस्ताइन् भन्ने इतिहासमा लेखिएको छ । त्यसैले द्रव्यशाह आफ्नो कार्यकालमा क्षेत्र विस्तारका लागि कहिल्यै चेपे तरेनन् भन्ने भनाइ रहेको छ ।

वि.सं. १६१६ मा गोरखाको पस्लाङ्गमा नारायणदास अर्यालद्वारा द्रव्यशाहको शुभराज्याभिषेक भएको थियो भन्ने जनश्रुति रहेको छ । उनले सिरानचोक, अजिरकोट, बारपाक जितेर आफ्नो राज्य पश्चिममा चेपे र पूर्वमा बूढीगण्डकीसम्म विस्तार गरे । लिगलिगकोटबाट गोरखा कहिले सरे भन्ने ऐकिन नभए पनि वि.स. १६१६ देखि १६२७ सम्म द्रव्यशाहले शासन गरे ।

द्रव्यशाहले शासन गरेको लिगलिगकोटमा करीव ५०० वर्ष पुराना दरवारका भग्नावशेषहरु अझै सुरक्षित छन् । मुल गढी सहित ५ वटा गढीहरु ठूलो गढी, बैठक भवन, सुरक्षा हेर्ने २ वटा भवन र सूचना प्रवाह गढीका भग्नावशेषहरु देख्न सकिन्छ । राजपरिवारले पूजाआजा गर्ने कालिका मन्दिर, भुमेस्थान मन्दिर, भीमसेन मन्दिर, दर्खेदेवी मन्दिर र चण्डीस्थानका भग्नावशेषहरु अझै सहजै देख्न सकिन्छ ।

कालिका मन्दिरमा विशेष गरी दशैंको अष्टमीको दिनमा बोका, राँगोको वलि दिने चलन अझै छ । पछिल्लो समय यो क्षेत्र पर्यटकीय दृष्टिले आकर्षणको केन्द्रविन्दु बनेको छ । ६० फिट अग्लो राष्टिूय झण्डा फर्फराइरहेको निकै टाढा टाढाबाट पनि देख्न सकिन्छ ।

लिगलिगकोटको आसपासमा थुप्रै सुविधा सम्पन्न होमस्टेहरु तयार भएका छन् र वर्षेनी हजारौंको सख्यामा पर्यटकहरु यस क्षेत्रको भ्रमण गर्न आइपुग्छन् । आन्तरिक एवं वाह्य पर्यटक आकर्षण गर्ने उद्देश्य र ऐतिहासिक स्मरण स्वरुप हरेक वर्ष पालुङटार नगरपालिका र लिगलिगकोट विकास अभियानको आयोजनामा हरेक वर्ष दशैको अवसरमा खुला लिगलिगे दौडको प्रतिस्पर्धा
गराईन्छ ।

भने समय समयमा पर्यटकहरुलाई लक्षित गरी प्याराग्लाइडिङ, लिगलिगे साइकल दौड जस्ता कार्यक्रमहरु सञ्चालन हुँदै आइरहेको छ ।


(पालुङटार.३, गोरखा घर भएका लेखक बालकुमारी कन्या माध्यमिक विद्यालय नारायणगढ, चितवनका शिक्षक हुन्)

प्रतिक्रिया दिनुहोस्