| बिहिबार, मंसिर २१, २०८०

उत्तरी गोरखामा घर आगलागी हुदाँ जलेर आमा छोराको मृत्यु

उत्तरी गोरखाको धार्चे गाउँपालिका–१ हुल्चुकमा शनिवार राती घर आगलागी हुदाँ जलेर आमा छोराको मृत्यु भएको छ । ७८ बर्षीया कान्छी गुरुङको घरमा आगलागी हुदाँ उनी र अपाङ्गता भएका उनका ३९ बर्षका छोरा चनारसिंङ गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

‘हिजो राती घरमा आगलागी भएको रहेछ, हामीलाई बिहान मात्र खवर आयो,’ प्रहरी नायव उपरीक्षक रमेशकुमार श्रेष्ठले भने, ‘जगत प्रहरी चौकीको टोली घटनास्थल पुगिसक्यो, आरुघाटबाट प्रहरी निरिक्षक कमाण्डको टोली जाँदै छ ।’ हालसम्म प्राप्त जानकारी अनुसार आगलागीबाट घर पूर्ण रुपमा क्षति भएको र आमा छोराको घरभित्रै जलेको अवस्थामा शव फेला परेको उनले जानकारी दिए ।

वडाध्यक्ष रामसिंङ गुरुङले घटनाबारे शनिवार राती दश बजे खवर आएको बताए । ‘खवर आएलगतै हामी त्यहाँ पुग्दा घरको बाहिरै भागमा समेत आगो फैलिसकेको रहेछ, गाग्री र बाल्टीमा पानी बोकेर आगो निभाउन हामीलाई करिव डेढ घण्टा जस्तै लाग्यो, बल्लतल्ल आगो नियन्त्रण गरेर घरभित्र पस्दा दुवै जनाको शव जलेर चिन्नै नसक्ने अवस्थामा फेला पा¥यौ,’ उनले भने ।

चिसोका कारण न्यानो बनाउँन फुकेको आगो फैलिएर आगलागी भएको हुनसक्ने अनुमान गरिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्