| शनिबार, माघ ५, २०८१

गोरखाको पालुङटार ९ सिस्नेरी अझै पनि काठेपोलकै भर


पालुङ्टार नगरपालिका जिल्लाको दक्षिण पश्चिममा पर्ने सबैभन्दा सुगम ठाउँ हो । तर बिगत २५ बर्षअघिदेखि विद्युतीकरण भएका यहाँका कैयौँ गाउँहरु अझै पनि काठेपोलकै भरमा छन् ।


सदरमुकामबाट धेरै टाढाटाढासम्म केन्द्रीय प्रशारणको लाइन वितरण भइरहेको छ । संघ सरकार, प्रदेश सरकार र पालिकाहरुले पनि काठेपोल विस्थापन अभियान भनेर सञ्चालन गरिरहेका छन् तर पालुङटार नगरपालिका वडा नं ९ सिस्नेरी लगायतका धेरै टोलहरुमा अझै पनि काठेपोलको सहायताले विजुली बाल्ने गरिएको स्थानीय उपभोक्ताहरुको गुनासो छ । विद्युत प्राधिकरणको जिल्लास्थित वितरण केन्द्रले जिल्ला काठेपोल विस्थापनको अन्तिम चरणमा पुगेको बताइरहँदा पालुङटार जस्तो सुगम ठाउँका बासिन्दा अहिलेसम्म काठेपोल प्रयोग गर्न बाध्य छन् ।


काठेपोल प्रयोग गर्नुपर्दा आफूहरु समस्यामा परेको स्थानीय उपभोक्ता डम्बर रानाको गुनासो छ । ‘गाउँमा २०६० सालभन्दा अघिदेखि विजुली आएको हो तर यत्ति लामो समय भइसक्दा पनि अहिले सम्म काठेपोल हटेको छैन,’ उनले भने, ‘नेपाल विद्युत प्राधिकरण र नगरपालिकामा बारम्बार माग गरिरहेको हो, तर अहिलेसम्म सुनुवाइ भएको छैन ।’ पटक पटक जानकारी गराउँदा पनि सुनुवाइ नभएको उनको गुनासो छ । उनका अनुसार अहिले सिस्नेरी गाउँमा सात ठाउँमा काठेपोल रहेका छन् । सिस्नेरीसहित वडाभित्रका अन्य गाउँहरुमा अझ धेरै हुन सक्ने उनले बताए । ‘नगरपालिकाले दिएको फलामे पोल सबै लुछाचुडी गर्छन् । हामी त्यस्तो गर्ने चलन छैन, दुई वर्षअघि प्राधिकरणबाट २५ वटा पोल झारेको थियो, त्यही पोलले केही ठाउँका काठेपोल हटाइयो, तर अहिले दुईबर्षदेखि फलामे पोल आएको छैन । काठेपोलले नै जसोतसो चलिरहेको छ,’ उनले भने ।


काठैपोल भएका स्थानहरुमा हावाहुरी आउँदा भाँच्चिने, ढल्ने जोखिम धेरै हुने गरेको उनले बताए । ‘सानो हावाहुरी आउने वित्तिकै काठेपोलहरु भाँचिन्छ, अनि भनेको बेलामा बत्ती बाल्न पाइँदैन,’ उनले भने, ‘काठेपोलहरु एकडेढ वर्षमै भाँचिन्छ । विजुली गएपछि फ्युज निकाल्नुपर्छ, फ्युज निकाल्नका लागि यहाँबाट ट्रान्सफर्मरसम्म जान पनि धेरै टाढा छ ।’ गाउँमा १७ सयबाट तानेको केन्द्रीय प्रसारणबाट विजुली बाल्दै आएको उनले बताए । ‘त्यता वरिपरि सबैतिर सदरमुकामतिरबाट वा पालुङ्टारबाट तानेको लाइनबाट बत्ती बाल्छन् । हाम्रोतिर मात्रै सत्रसयबाट तानेको बत्ती बाल्नु परेको छ’, उनले भने, ‘मोटरबाटो नपुगेको ठाउँमा ट्रान्सफर्मर राखिएको छ, जंगलको बीचबीचबाट तार टाँगिएको छ । सँधै समस्या भइरहन्छ । मर्मत गर्न पनि धेरै कठिन छ । एकफेर लाइन बिग्रियो भने कैयौँ दिन अन्धकारमा रात गुजार्नुपर्छ ।’ प्राधिकरणलाई बारम्बार गुनासो गर्दा पनि कानमा तेल हालेर बसेको नभएको उनको भनाइ छ ।


नेपाल विद्युत प्राधिकरण गोरखा वितरण केन्द्र गोरखाका प्रमुख चीज गुरुङले भने जीर्ण भएका काठेपोलहरु विस्तारै हटाउने क्रममा रहेको लवस्तरो जवाफ दिए । ‘एक दुईवर्ष अघि काठेपोल हटाउने कार्यक्रम थियो । त्यो ठाउँ त्यति बेला छुटेको होला,’ उनले भने, ‘तर अहिले काठेपोल हटाउने भनेर छुट्टै कार्यक्रम छैन । जीर्ण भएका काठेपोल विस्तारै विस्थापन गर्दै जान्छौँ ।’ जिल्ला विभिन्न स्थानमा रहेका काठेपोलहरु तत्काल सबै बिस्थापन गर्न सम्भव नभए पनि क्रमश हटाउने जाने योजनामा रहेको उनले बताए । त्यस्तै, भर्खर विद्युत पुगेको ठाउँहरुमा भने फलामे पोल हाल्दै आएको पनि उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्