कांग्रेस गोरखाको दुई दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न
नेपाली कांग्रेस गोरखाले वडा समितिसंग र निर्वाचित जनप्रतिनिधिसंग अन्तरक्रिया कार्यक्रम सञ्चालन गरेको छ । शुक्रबार पार्टीको ९४ वटै वडा समितिको नेतृत्वसंग र शनिबार कांग्रेसबाट निर्वाचित भएका जनप्रतिनिधिहरुसंग अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न गरेको हो ।
दुवै दिनको कार्यक्रममा जिल्ला कार्यसमितिका सभापति नन्दप्रसाद न्यौपानेले पार्टीले निर्दिष्ट गरेअनुसारको कार्यक्रम सञ्चालन गर्नुपर्ने, जनप्रतिनिधि र पार्टी सञ्जालका बीच निरन्तर अन्तरसम्बन्ध हुनुपर्ने लगायतका सुझाव दिएका थिए ।
‘पार्टीको विधानले निर्दिष्ट गरे अनुसारका काम सञ्चालन गर्नु पर्ने विषयमा जिल्ला नेतृत्वले सबैलाई सचेत गराएको थियो । त्यस्तै, जनप्रतिनिले गरेका काम ठिक छन कि छैनन् ? छैनन भने के कसरी सुधार गर्नुपर्छ, भनेर सुझाव संकलन गर्ने काम पनि भयो’, कार्यक्रममा सहभागी शिवहरि तिमिल्सिनाले भने, ‘विकास निर्माणको काम गर्दा कुनै एउटा दलको मात्र भन्दा पनि जनताले चाहे अनुसारको काम छनौट गर्नुपर्ने, काम गर्दा धेरैभन्दा धेरै समन्वय गरेर गर्नुपर्ने विषयमा पनि प्रशिक्षित गरिएको थियो ।’
नीतिगत कुरा मात्र नभै सर्वसाधारण नागरिक कसरी व्यवसायिक बन्न सक्छन्, कसरी जनतलाई अर्थोपार्जनसंग जोड्न सकिन्छ, कसरी सहज जीवन जिउन सकिन्छ भन्ने बारेमा सरोकार राखेर काम गर्नुपर्ने बारेमा पनि छलफल भएको उनले बताए ।
कांग्रेसले आउँदो माघको पहिलो साताबाट ९४ वटै वडामा अगुवा कार्यकर्ता प्रशिक्षण सञ्चालन गर्दैछ । त्यस विषयमा पनि दुवै दिनको कार्यक्रममा छलफल भएको तिमिल्सिनाले जानकारी दिए ।
कार्यक्रममा पार्टीको वडा कमिटिका नेतृत्व, निर्वाचित जनप्रतिनिधि, पार्टीका जिल्ला कार्यसमितिका पदाधिकारी तथा सदस्यहरु, महाधिवेशन प्रतिनिधि तथा महासमिति सदस्यहरु सहभागी थिए ।