| मङ्लबार, बैशाख ४, २०८१

तीनधारेमा ११० बर्ष प्राचीन श्रीहरि गणेश मन्दिरको पुनर्निर्माण


गोरखा बजारको तीनधारेमा ११० बर्ष प्राचीन श्रीहरि गणेश मन्दिरको पुनर्निर्माण गरिएको छ । त्यतिबेला गणेश मन्दिर स्थापना गर्ने हरि श्रेष्ठका पनाति अशोक श्रेष्ठले सो मन्दिरको पुनर्निर्माण गरेका हुन् ।


पुनर्निर्माण सम्पन्न भएको सो मन्दिरको आउँदो माघे सक्रान्तिका अवसरमा स्थानीय टोल विकास संस्थालाई हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ ।


भूकम्पले क्षतिग्रस्त बनाएको सो मन्दिर अशोक श्रेष्ठले छ लाख ६५ हजार रुपैयाँ लागतमा पुनर्निर्माण गरेका मन्दिर पुनर्निर्माणको समन्वय गरेका डाक्टर राजुबाबु श्रेष्ठले जानकारी दिए । मन्दिरमा रहेको यसअघिको टिनको छानो पुनर्निर्माणको क्रममा विस्थापित गरी तामाको पाताले छाइएको डाक्टर श्रेष्ठले बताए ।

‘गारो पनि डेढ फिट अग्लो बनाइएको छ । यसअघि माटोको भुइँ रहेको सो मन्दिरमा अहिले ढुङ्गा छापिएको छ’, उनले भने, ‘पहिले टुँडालहरु थिएन, अहिले टुँडाल राखिएको छ । रेलिङ थिएन, अहिले रेलिङ पनि निर्माण गरिएको छ ।’ सो मन्दिर यसअघि १९७१ सालमा स्थापना गरिएको थियो ।


तीनधारे निवासी हरि श्रेष्ठलाई ११० बर्षअघि सपनामा गणेशले दर्शन दिई उनको घर अगाडि आफ्नो मूर्ति रहेको र त्यसलाई घरको नजिकै मन्दिर बनाई पूजाआजा गर्न आग्रह गरी अलप भएको किंवदन्ती छ ।

‘भोलिपल्ट बिहान घर अगाडि खोजतलास गर्दा सपनामा देखेजस्तै मूर्ति फेला पारेछ । मूर्तिलाई पाँच जना मिलेर मूर्ति निकाल्न खोज्दा हलचल भएनछ । हरि श्रेष्ठले पूजाआजा गरी चलाउँदा निस्केछ’, श्रेष्ठले भने, ‘त्यही दिन मूर्तिलाई अहिले मन्दिर पुनर्निर्माण भएको ठाउँमा स्थापना गरी पूजाआजा गर्ने परम्परा सुरु भएको हो भन्ने सुनिन्छ ।’ हरि श्रेष्ठले स्थापना गरेकाले गणेशको श्रीहरि गणेश नामाकारण गरिएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्