पहिलो दिनको एसईई परीक्षामा १७ परीक्षार्थी अनुपस्थित
एसईई परीक्षा २०८० को पहिलो दिन ३,६४५ जना परीक्षामा सहभागी भएका छन् । एसईई आवेदन फर्म भरेका ३,६६२ जना परीक्षार्थीहरुमध्य पहिलो दिन १७ जना अनुपस्थित रहेका शिक्षा विकास तथा समन्वय इकाइले जानकारी दिएको छ । आठ जना छात्रा र नौ जना छात्र परीक्षामा गयल भएका हुन् ।
गोरखाका दुई विद्यालयका पाँचजना दृष्टिविहिन विद्यार्थीले पनि एसईई दिएका छन् । आरुघाट गाउँपालिका ३ को जलकुमारी माविका चार जना दृष्टिविहिन विद्यार्थीले गण्डकी मावि आर्खेत केन्द्रबाट एसईई दिइरहेका छन् । त्यस्तै सरस्वती मावि आहाले परीक्षा केन्द्रमा सरस्वती माविकै एकजनाले एसईई दिइरहेका हुन् ।
त्यस्तै मनकामना बहिरा माविका १६ जना बहिरा विद्यार्थीहरुले रत्नराज्य मावि वीरेन्चोक परीक्षाकेन्द्रमा पनि परीक्षा दिइरहेका छन् ।
कूल तीनहजार छसय ६२ परीक्षार्थीमध्य पहिलो दिन तीनहजार छ सय ४५ जनाले मात्र एसईई परीक्षा दिएका शिक्षा विकास तथा समन्वय इकाइ गोरखाका प्रमुख सुवास आचार्यले जानकारी दिए ।
जीवनज्योति मावि च्याङ्ली केन्द्रमा एकजना, ज्ञानमार्ग मावि घ्याल्चोक केन्द्रमा एकजना, भगवती हिमालय मावि घैरुङ केन्द्रमा दुईजना, भीमोदय मावि आरुघाट केन्द्रमा दुईजना, महेन्द्र मावि कुन्दुर केन्द्रमा एकजना, महेन्द्रज्योति मावि दरबारमार्ग केन्द्रमा दुईजना, शक्ति मावि पाटेचौर केन्द्रमा एकजना, सरस्वती मावि आहाले केन्द्रमा दुईजना, सरस्वती मावि बोर्लाङ केन्द्रमा एकजना, हिमालय मावि सिम्जुङ केन्द्रमा एकजना र हिमालय मावि सौरपानी केन्द्रमा दुईजना अनुपस्थित भएका आचार्यले जानकारी दिए ।
यसबाहेक पहिलो दिनको एसईई परीक्षा मर्यादित रुपमा सम्पन्न भएको उनले बताए ।