| बिहिबार, चैत्र ६, २०८१

भवानी क्याम्पस पालुङ्टारमा इ–लाइब्रेरी स्थापना


पालुङटार नगरपालिकामा अवस्थित भवानी बहुमुखी क्याम्पसमा प्रविधीमैत्री पुस्तकालय स्थापना गरिएको छ । करिब दुईलाख ५० हजार अनलाइन र एक हजार ५ सय अफलाइन पुस्तकसहित सो क्याम्पसमा पुस्तकालय स्थापना गरिएको हो ।
गोरखाको शहिद लखन गाउँपालिका नामजुङ् घर भई हाल जर्मनीमा बसोबास गर्ने रामप्रताप थापाको आर्थिक सहयोग तथा नेपाल लाइब्रेरी फाउण्डेशनको सहकार्यमा भवानी क्याम्पसमा सो पुस्तकालय स्थापना भएको कार्यक्रम संयोजक विनोद पोखरेलले जानकारी दिए ।


क्याम्पसमा रहेको पुस्तकालयलाई स्तरोन्नति गर्दै कक्ष विस्तार, आधुनिकिरण र प्रविधिमैत्री बनाइएको पोखरेलको भनाइ छ । ‘नयाँ पुस्तामा किताब पढ्ने बानी हराउँदै गएकोछ, अहिले भएका लाइब्रेरीहरुलाई इ–लाइब्रेरीका रुपमा रुपान्तरण गर्न सकिएन भने यो समस्या बढ्दै जाने देखिन्छ’, संयोजक पोखरेल भन्छन्, ‘त्यसैमध्येको एक कोसिस हो यो । यसले पक्कै पनि यहाँका विधार्थीमात्रै होइन शिक्षक र स्थानीयलाई समेत नयाँ उर्जा थपेको छ ।’ भवानीका पूर्व विधार्थी समेत रहेका पोखरेल ग्लोबल गोरखा समाजका संस्थापक महासचिव तथा हालका सल्लाहकार हुन् ।

एकबर्ष लगाएर विस्तार गरिएको पुस्तकालयमा अहिले ७ सय पुस्तक थप गरिएको छ भने ४ वटा कम्प्युटरमार्फत करिब दुईलाख ५० हजार भन्दा बढी पुस्तक पढ्न मिल्ने व्यवस्था मिलाइएको छ । नयाँ बनेको लाइब्रेरीको यसै हप्ता सहयोगदाता रामप्रताप थापाले उद्घाटन गरेका छन् । थापा जर्मनका लागि नेपाली महावाणिज्यदुतका साथै जर्मन नेपाल संघका अध्यक्ष समेत हुन् ।
८ लाख ४० हजार रकम खर्चेर निर्माण भएको सो पुस्तकालय विद्यार्थी, शिक्षकसहित स्थानीय नागरिकको समेत पहुँचमा पु¥याउने योजना रहेको क्याम्पस प्रमुख विष्णुप्रसाद आचार्यले बताए ।


जसका लागि बिहान १० बजेसम्म क्याम्पसका विद्यार्थी र १० बजेदेखि दिउँसो २ बजेसम्म स्थानीय र इच्छुकलाई लाइब्रेरी प्रयोग गर्न पाउने योजना क्याम्पसले बनाएको प्रमुख आचार्यको भनाई छ ।


क्याम्पसले लाइब्रेरी ब्यवस्थापनका लागि ७ सदस्यीय समिति समेत निर्माण गरेको जनाएको छ । हाल सो क्याम्पसमा २ सय बढी विद्यार्थी शिक्षा र ब्यवस्थापन संकायमा अध्ययनरत छन् ।

प्रतिक्रिया दिनुहोस्