| मङ्लबार, बैशाख ४, २०८१

गोरखामा आत्महत्या दुरुत्साहन आरोपमा चार जना पक्राउ

सिरानचोक गाउँपालिका–७ अमिलेडाँडाका ७१ बर्षीय मनबहादुर खड्का गत शनिवार घर नजिकै खनायोको रुखमा डोरीको पासो लगाई झुण्डिएको अवस्थामा फेला परे । आत्महत्या गर्न दुरुत्साहन दिएको भन्दै मृतकका छोराले दिएको जाहेरीको आधारमा प्रहरीले चार जनालाई पक्राउ ग¥यो ।
पक्राउ पर्नेमा सोही वडाका ५५ बर्षीया बुद्धिकुमारी गुरुङ, ६० बर्षीय रुपकाजी भन्ने सन्तबहादुर गुरुङ, ४५ बर्षीय मिनु गुरुङ र पुष्पा कुमारी गुरुङ रहेका छन् । आइतवार पक्राउ परेका उनीहरुलाई सोमवार आत्महत्या गर्न दुरुत्साहन दिएको कसूर शीर्षकमा मुद्दा दर्ता भएको छ ।
यसरी भएको थियो आत्महत्या दुरुत्साहन (प्रहरी उपरीक्षक बासुदेव पाठकसँगको कुराकानीमा आधारित)
चैत्र १५ गते मनबहादुर (मृतक) सधैझै घर नजिकैको जंगलमा बाख्रा चराउन गए । सोही क्रममा गोठालो गएका सोही स्थानकी बुद्धिकुमारी र उनका श्रीमान् रुपकाजी भन्ने सन्तबहादुर गुरुङसँग उनको भेट भयो । भेटमा बुद्धिकुमारीले केही रकम आवश्यक परेको भन्दै मनबहादुरसँग सहयोगको अपेक्षा गरिन् । मनबहादुरले पनि ‘चाहिएको बेला काम चलाइ दिउँला’ भने ।

त्यही कुरालाई बाङ्गो अर्थ लगाएर गाउँलेहरु माझ अनावश्यक भ्रम फैलाइयो । चैत्र १६ गते नवज्योती महिला समूहकी अध्यक्ष मिनु गुरुङ र सचिव पुष्पाकुमारी गुरुङको अगुवाईमा महिला समूहले कचहरी गरेर मनबहादुरलाई झिकाए । अनुचित दबाब र प्रभावमा पारी केरकार गरी बुद्धिकुमारीलाई अभद्र व्यवहार गरेको भन्दै मिथ्या आरोप लगाए । दोषी ठहर गरे । डर–त्रास देखाई १५ हजार रुपैयाँ जरिवाना तिर्न लगाए ।

झुठो आरोप लगाएर समाजका सामु आफ्नो हुर्मत लिएकोमा उनमा नैराश्यता छायो । घरका परिवारलाई उनले केही भनेनन् । चैत्र १७ गते बिहान घर नजिकैको खनायो रुखमा झुण्डिएर आत्महत्या गरे । घटनापछि मृतकका छोराले बुद्धीकुमारी, उनका श्रीमान् सन्तबहादुर, महिला समूह अध्यक्ष मिनु र सचिव पुष्पाकुमारी बिरुद्ध प्रहरीमा जाहेरी दिए । अनि प्रहरीले उनीहरुलाई पक्राउ ग¥यो ।

‘एक त मनबहादुरले भनेको कुरालाई बाङ्गो अर्थ लगाएर अनावश्यक भ्रम समाजमा फैलाउने काम भएको अनुसन्धानबाट खुल्न आयो,’ प्रहरी उपरीक्षक बासुदेव पाठकले भने, ‘अर्काे महिला समूह आफै न्यायाधिश बन्न खोजे ।’ समाजमा भएका घटनालाई आफूखुशी जरिवाना तिराई आपसी रुपमा मिलाउन खोज्नु गैरकानूनी भएको भन्दै उनले थपे, ‘महिला समूहले कानुन हातमा लिन खोज्नुभयो, उहाहरु पनि कारवाहीको भागिदार हुनुहुन्छ ।’

प्रतिक्रिया दिनुहोस्