भलिबल प्रतियोगिता : पुरुष तर्फ शहिद लखन, महिला तर्फ बारपाक सुलिकोट विजयी
गोरखामा सम्पन्न प्रथम अन्तर पालिकास्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगितामा पुरुष तर्फको उपाधि सहिद लखन गाउँपालिकाले उचालेको छ । पुरुष भलिबल प्रतियोगिता अन्तरगत शुक्रबार भएको फाइन खेलमा भिमसेन थापा गाउँपालिकालाई ३–० को सोझो सेटमा पराजित गर्दै शहिद लखनले उपाधि हात पारेको हो ।
उपाधिसँगै ७० हजार रुपौयाँ, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । उपाधिका लागि गोरखा सदरमुकामको हरमटारी खेलमैदानमा सहिद लखन र भिमसेन थापा बीच खेल भएको थियो । पराजित बनेसँगै भिसेन थापाले दोस्रो स्थान हात पारेको छ । प्रतियोगितामा अजिरकोट तेस्रो बनेको छ भने बारपाक सुलिकोटले सान्त्वना स्थान हाँसिल गरेको छ । दोस्रो, तेस्रो र सान्त्वनाले क्रमश ४० हजार २५ हजार र १५ हजारको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।
सान्त्वनालाई भने मेडलको व्यवस्था गरिएको छैन ।
त्यस्तै महिलातर्फ बारपाक सुलिकोट गाउँपालिकाले उपाधि जितेर बिजयी बनेको छ । बारपाक सुलिकोटसँग पराजित बन्दै सहिद लखन दोस्रो बनेको जिल्ला भलिबल संघ गोरखाका अध्यक्ष कृष्ण गुरुङले बताए । सो प्रतियोगितामा भिमसेन थापा तेस्रो बनेको छ । यसैगरी महिलातर्फ पालुङटार नगरपालिका सान्तवना बनेका छन् । प्रथम, द्वितीय, तृतीय र सान्त्वनाले क्रमश ७० हजार, ४० हजार, २५ हजार र १५ हजारको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।
यस्तै प्रतियोगितामा पुरुषतर्फ सहिद लखनका क्याप्टेन होम बहादुर मगर सर्वोकृष्ट खेलाडी बनेका छन् । उनले नगद ५ हजार पुरस्कार समेत प्राप्त गरेका छन् । उत्कृष्ट ब्लकर भिमसेन थापाका आशिष श्रेष्ठ, उत्कृष्ट स्पाईकर सहिद लखनका प्रदिप श्रेष्ठ, उत्कृष्ट सेटर पनि सहिदकै केशव बहादुर परियार र सहिदकै करुण गुरुङ उत्कृष्ट डिफेन्डर बनेका छन् । यसैगरी उत्कृष्ट सर्भर अजिरकोटका पवन खनाल र उत्कृष्ट प्रशिक्षक सहिदका अर्जुन श्रेष्ठ बनेका छन् । उत्कृष्ट सबैले जनही रु २/२ हजार प्राप्त गरेको जिल्ला भलिबल संघले जनाएको छ ।
महिला तर्फ बारपाक सुलिकोटका संगिता बराम सर्वोकृष्ट खेलाडी बनेकी छिन् । बारपाककै विमला गुरुङ उत्कृष्ट स्पाईकर, सर्मिला गुरुङ उत्कृष्ट सेटर, पुजा गुरुङ उत्कृष्ट डिफेन्डर बनेका छन् । सहिद लखनका स्मृति सुनार उत्कृष्ट ब्लकर र भिमसेनका मातृका बराम उत्कृष्ट सर्भर बनेकी छिन् । यस्तै महिला तर्फ बारपाक सुलिकोटका प्रशिक्षक विज्ञान कुमाल उत्कृष्ट प्रशिक्षक बनेका छन् ।
चैत २७ गतेबाट सुरु भई चार दिनसम्म चलेको प्रतियोगितामा पुरुषतर्फ उत्तरी गोरखाको चुमनुब्री बाहेक अन्य १० पालिकाबाट १० वटा टिमको सहभागिता रहेको संघले जनाएको छ । यसैगरी महिला तर्फको प्रतियोगितामा चुमनुब्री गाउँपालिका, सिरानचोक गाउँपालिका र गण्डकी गाउँपालिका बाहेक अन्य ८ पालिकाले सहभागिता जनाएका थिए ।