| बुधबार, जेष्ठ ९, २०८१

ठूलो वर्णमालाले पढाइको प्यास मेटाउँदै पासाङ डोमा


देशभरका सामुदायिक तथा संस्थागत विद्यालयमा यतिबेला विद्यार्थी भर्ना अभियान सकिएर पनि पठनपाठन सुरु भइसक्यो । सरकारले गोरखा जिल्लालाई पूर्ण साक्षरता जिल्ला घोषणा गरेको पनि पाँच बर्षभन्दा धेरै भइसक्यो ।

तर दुर्गम गाउँको अबस्था भने सरकारले देखेको भन्दा बेग्लै छ ।

चुमनुब्री ५ बिही, ह्युल्छुङकी कर्मा साङ्मो हिँजोआज गाउँकै पाखा पखेरामा मेलापात गरिरहेको भेटिन्छिन् । १३ पूरा भई हालै १४ बर्ष लागेकी उनको सिजनअनुसार कहिले मेलापात, कहिले गोठालो, कहिले दाउराघाँसमा दिनचर्या बितिरहेको छ ।
उनले स्कूल पढ्न छाडेको दुई बर्ष भयो । लामा गुरु स्पोन्सर पाएर काठमाडौँ फर्पिङ गुम्बामा पढ्न गएकी उनलाई ६ कक्षा पढ्दापढ्दै घरायसी बाध्यताले स्कूल छुटायो । ‘पढ्न छोड्दे, घरमा आइज भनेर बुबाआमाले सँधै बोलाइरहन्थ्यो’, केहीदिनअघि वनमा निगालो काटेर ओसार्दै गर्दा भेटिएकी उनी भन्छिन्, ‘पढ्न मन त लाग्छ नि, तर घरको मान्छेले नदिएपछि के गर्ने त ?’ स्कूलै भर्ना नभएका र, कोही पढ्दा पढ्दै बीचैमा छोडेका साथीसंगी गाउँमा धेरै नै भएको उनको भनाइ छ ।

कर्मा साङ्मो मात्र होइन, उनकी १० बर्षकी बहिनी छेदेन धिकीले पनि स्कूल भर्ना हुन पाइनन् । घरायसी काममा नै छेदेनको दिन बितिरहेको छ । अर्की एउटी दिदी छिरिङ ङामोले सातसम्म पढेर छोडिन् । अहिले उनी बिहे गरेर घरजम गर्न थालिसकिन् । ‘अर्को दिदीले त कत्ति पनि पढेन । उ पनि बिहे गरेर गइसक्यो’, उनले भनिन् ।

बिही गाउँकी पासाङ डोमा यो फागुनले आठ पूरा भएर नौ बर्ष लागिन् । उनलाई औधी स्कूल पढ्ने मन छ । उनका १० बर्षका दाइ तेञ्जिङ छ्योक्याल ल्हो मावि स्यालामा पढ्छन् । अर्को दाइ सेराङ स्कूल पढ्छन् । उनलाईचाहिँ सेराङमा होइन, स्याला स्कूल पढ्ने ठूलो रहर छ । घरमा बस्दा पनि प्राय उनी ठूलो बर्णमाला किताब हेरेर बस्छिन् । तर उनलाई अक्षर पढ्न त परको कुरा, नेपाली भाषा बुझ्न र बोल्न पनि आउँदैन ।

दाइलाई जस्तै आफूलाई पनि यो साल त स्कूल पठाउँछन् कि भन्ने रहर पालेर बसेको धेरै भयो, तर उनलाई स्कूल भर्ना गर्ने बारे घरमा कहिल्यै चर्चा चलेको सुनिनन् । तीन दाजुभाइपछिकी एउटा छोरी पासाङ, खेल्न, बोल्न निकै टाठी र फुर्तिली छिन् । उनको अन्तर्निहित क्षमता वर्णमाला किताबमै सीमित भइरहेको छ ।

‘छोरी हो के यो । स्कूल हाल्ने ठाउँ नै पाउँदैन । पैसा छैन’, उनका बुबा दोर्जे छेवाङ भन्छन्, ‘सेराङ नजाने, स्याला जान्छु भन्छ । स्याला पठाउन नि गाह्रो छ । बर्खामा स्याला पु¥याउनुपर्छ । एकदिनभरि हिड्नुपर्छ । हिउँदमा कोखेटार पु¥याउनु पर्छ । त्यहाँ जान आउन तीन दिन लाग्छ । ल्याउन, पु¥याउन खर्च चाहियो । पैसा छैन ।’ ल्हो मावि स्याला चिसो छल्न मंसीरदेखि चैतसम्म आरुघाट गाउँपालिका ३ कोखेटारमा सञ्चालन हुन्छ भने बर्खाका बेला स्यालामा सञ्चालन हुन्छ ।

सेराङ आधारभूत विद्यालय पनि जाडो महिनामा बिही गाउँमा सञ्चालन हुन्छ, बर्खा महिनामा सेराङगुम्बामा सञ्चालन हुन्छ । सेराङ पुग्न पनि सात, आठ घण्टा लाग्ने उनको भनाइ छ ।

‘पासाङ, स्कूल नजाने ? किन स्कूल नगा’को ?’
‘स्याला’, सोधेको कुरा बुझ्दै नबुझी उनले पढ्न मन लागेको स्कूलको नाम मात्र लिइन् ।
स्याला पढ्ने तीब्र धोको घरआँगनमै धुलौटो कोरेर र ठूलोवर्णमाला हेरेर समाप्त हुने क्रममा छ ।

प्रतिक्रिया दिनुहोस्