
डिभिजन वन कार्यालयद्धारा १ करोड ३७ लाख राजश्व संकलन
डिभिजन वन कार्यालय गोरखाले गत आर्थिक वर्ष २०८०/८१ मा १ करोड ३७ लाख २१ हजार राजश्व संकलन गरेको छ । कार्यालयका अनुसार सबैभन्दा धेरै निजी वनहरुको मुल्य अभिवृद्धि कर अन्तरगत १ करोड १ लाख ८६ हजार रुपैँया राजश्व संकलन भएको छ । यस्तै, वन क्षेत्र रोयल्टी (जडिवुटी संकलन, वेवारिसे, जोखिमयुक्त आयोजना) बापत २३ लाख संकलन भएको कार्यालयले जनाएको छ ।
निजी तथा सामुदायिक वन प्रदेश सेवा शुल्क अन्तरगत १० लाख ४३ हजार र राष्ट्रिय वनको काठ दाउरा बिक्रीबाट १ लाख ८९ हजार राजश्व संकलन गरिएको कार्यालय प्रमुख मदन मोहन शाण्डिल्यले बताए । सोमवार कार्यालयको बार्षिक प्रगति समिक्षा प्रस्तुत गर्दै उनले गत आव कार्यालयको वित्तिय प्रगति ६९ प्रतिशत रहेको जानकारी गराए ।
उनका अनुसार प्रदेश सरकारबाट ४ करोड २४ लाख ४० हजार र संघीय सरकारबाट १ करोड ३० लाख ३९ हजार गरी जम्मा ५ करोड ५४ लाख ७९ हजार बजेट आएको थियो । जसमध्ये ३ करोड ८१ लाख ५५ हजार मात्र खर्च भएको शाण्डिल्यले बताए । कार्यालयको भौतिक प्रगति भने ८५ प्रतिशत रहेको उनले जानकारी गराए । प्रदेश सरकारले कार्यक्रम तर्फ (पूँजीगत खर्च)का लागी बिनियोजन गरेको रकममा ९७.९१ प्रतिशत वित्तिय प्रगति रहेको कार्यालयले जनाएको छ ।
चालु खर्च (प्रशासनिक खर्च) को वित्तिय प्रगति भने ६३.३५ प्रतिशत मात्र रहेको बताइएको छ । यसरी बिकास तर्फ शत प्रतिशत प्रगति रहेको र आवश्यक कर्मचारी पद रित्त रहेकाले चालु खर्चको प्रगति कम हुन गएको कार्यालय प्रमुख शाण्डिल्यले बताए । ‘कार्यालयलाई आवश्यक कर्मचारीहरुको पद रिक्त रहेकाले चालु खर्चको वित्तिय प्रगति कम हुन पुगेको हो’, उनले भने, ‘त्यसैले कार्यालयको समग्र वित्तिय प्रगति कम देखिएको हो ।’
संघ सरकारबाट आएका कार्यक्रमहरु भने संचालन गर्न नसक्ने अवस्था आएकाले प्रगति कम देखिएको उनले बताए । ‘वातावरण अनुकुलता नै नहेरी पहुँचका आधारमा ल्याएका केही संघका कार्यक्रमहरु संचालन हुन सकेनन्, त्यसैले पनि प्रगति कम देखिएको हो’, उनले भने । संघको प्रशासन (चालु खर्च) तर्फ ९१ र कार्यक्रम (पूँजीगत) तर्फ ७० प्रतिशत प्रगति रहेको उनले बताए ।