
पहिरोले सिङ्लाको एकघरमा पूर्ण क्षति, बेनिघाट–लार्के सडक अवरुद्ध
केही दिनअघिको पहिरोले धार्चे गाउँपालिका–५ सिङ्लास्थित बोरङ(गैरीगाउँ)को एक घर पूर्ण रुपमा क्षति भएको छ । स्थानीय तेजबहादुर गुरुङको घर पहिरोमा परी क्षतिग्रस्त भएको छ ।
साथै कान्छी गुरुङ, हस्तबहादुर गुरुङ र सुनबहादुरको घर भत्किएको छ । उनीहरुको ढुंगा माटोले बनेको र जस्ताले छाएको एक तले कच्ची घर पूर्ण रुपमा क्षति भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । सौचालय, दाउरा राख्ने कटेराहरु पनि पहिरोले लगेको गाउँपालिकाका अध्यक्ष लक्ष्मण गुरुङले जानकारी दिए ।
रुकाङबाट आएको लेदो सहितको पहिरो बगेपछि सो टोलमा रहेका २१ घरधुरीमा आंशिक क्षति पुगेको छ । ‘करिब २५ घरधुरी रहेछन्,’ प्रहरी नायव उपरीक्षक रमेशकुमार श्रेष्ठले भने, ‘लेदो माटो सहित पहिरो पसेर १० भन्दा बढि घरधुरी जोखिममा छन् ।’
यता बर्षाका कारण धार्चे गाउँपालिका–५ खानीवेशीमा गएको पहिरोले बेनिघाट–लार्के सडकखण्ड अवरुद्ध बनेको छ ।
माथिबाट खसेको पहिरोले सडक बगाएपछि बाटो पूर्ण रुपमा बन्द भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । सडक अवरुद्ध भएपछि आउजाउका लागि स्थानीयले नजिकै रहेको झोलुङ्गे पुल प्रयोग गर्दै आएका छन् ।