| सोमवार, चैत्र ३, २०८१

धार्चे गाउँपालिकाद्वारा न्याय निरुपणसम्बन्धी जनचेतनामूलक भिडियो विमोचन

धार्चे गाउँपालिकाले न्याय निरुपणसम्बन्धी जनचेतनामूलक भिडियो विमोचन गरेको छ । जिल्ला अदालत गोरखाद्वारा आयोजित न्यायिक शाखा कर्मचारीको तीन दिने क्षमता अभिवृद्धि कार्यक्रमको अवसरमा उक्त भिडियो विमोचन गरिएको हो ।

मंगलबार सो समारोहका बीच जिल्ला न्यायधीश शिव रानाभाटले भिडियो विमोचन गरेका धार्चे गाउँपालिकाकी उपाध्यक्ष सुनिला गुरुङले बताइन् । सामान्य खालको विवाद तथा झै–झगडालाई न्यायिक समितिद्वारा स्थानीयस्तरमा नै समाधान गर्ने उद्देश्यले भिडियो निर्माण गरिएको उनले जानकारी दिइन् ।

न्यायिक समितिको अवश्यकता के हो र न्यायिक समिति नहुँदा कस्ता खालका समस्या आइपर्छ भन्ने उक्त भिडियोमा देखाएको उनले बताइन् । न्यायिक समितिको कामबारे जानकार नहुनाले सानो मुद्धा लिएर पनि जनताले धेरै सास्ती खेप्नु पर्ने अवस्था रहेको उनको भनाई छ ।

‘न्यायिक समितिको कामबारे थाहा नहुदाँ जनताहरु सानो सानो मुद्दा लिएर पनि जिल्ला अदालत, पुलिस चौकीमा पुग्छन्,’ उनी भन्छिन्, ‘यसमा धेरै खर्च लाग्छ, जस्ले गर्दा जनतालाई आर्थिक भार थपिन्छ ।’ गाउँमा हुने घरायसी विवादको समाधानका लागि गाउँपालिकामा नै मिलाप केन्द्र हुनु पर्ने उपाध्यक्ष गुरुङको भनाइ छ । गाउँपालिकामा नै मिलाप केन्द्र भएपछि सानो मुद्दाको लागी जिल्ला अदालतसम्म पुग्नु पर्ने बाध्यता हट्ने उनी बताउँछिन् ।

‘साना तिना विवाद वडामै मिलाएर वडाबाटै पनि जनताले कसरी सुविधा लिन सकिन्छ भन्नेबारे भिडियोमार्फत देखाउन खोजेका छौं’ उनले भनिन् । वडाको न्यायिक समितिले दिने सुविधा पनि पारदर्शी साथै जनताले महाशुस गर्न सक्ने खालको हुनुपर्ने उनले बताइन् ।

उक्त भिडियोमा कलाकारहरु सुविर पण्डित, पल्पशा डंगोल (चमसुरी), जुनु गुरुङ, सुस्मिता गुरुङ, सुनबहादुर गुरुङ (राज गोर्खाली), पिसान गुरुङ (फिस्टे), बाल कलाकार कुशल घलेले अभिनय गरेका छन् । भिडियो वडा कार्यालयको मेलमिलाप केन्द्र, धार्चे गाउँपालिकाको न्यायिक समिती कार्यालय र जिल्ला अदालतमा छायांकन गरिएको उपाध्यक्ष गुरुङले जानकारी दिइन् ।

जिल्ला न्यायधिश शिव रानाभाटको अध्यक्षतामा भएको कार्यक्रममा न्यायीक समितिका संयोजकहरु मध्य चुमनुब्री गाउँपालिका, सिरानचोक गाउँपालिका र गण्डकी गाउँपालिका बाहेक ८ पालिकाको उपाध्यक्षहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्