| बुधबार, अशोज २३, २०८१

गाउँपालिकाले कर्मचारी हटाइदिएको भन्दै अनिश्चितकालका लागि वडाको सेवा बन्द

गाउँपालिकाले वडा कार्यालयमा कार्यरत कर्मचारी हटाइदिएको र भएका एक वडा सचिव पनि बिनाजानकारी अनुपश्थित भएको भन्दै अजिरकोट गाउँपालिका वडा नं ४ सिम्जुङ स्थित वडा कार्यालयले सेवा बन्द गरेको छ । वडाका अध्यक्ष जंगबहादुर गुरुङले एक सूचना जारी गर्दै कर्मचारी अभावका कारण कार्यालयबाट प्रवाह हुने प्रशासन र पञ्जिकरण सेवा बन्द भएको उल्लेख गरेका हुन् । अर्को सूचना जारी नभएसम्मका लागि वडा कार्यालयबाट प्रवाह हुने सेवा सुविधा बन्द गरिएको सूचनामा भनिएको छ ।

गाउँ कार्यपालिकले राजनीतिक पूर्वाग्रह राखी पालिकामा कार्यरत आठजना कर्मचारी हटाएको जसमध्ये आफ्नो वडा कार्यालयमा कार्यरत दुईजना कर्मचारी पनि हटाइदिएको वडाअध्यक्ष गुरुङको गुनासो छ । कर्मचारीबिहिन भएपछि वडाकार्यालयको सेवा बन्द गर्न बाध्य भएको वडाअध्यक्ष गुरुङको छ । ‘पालिकाको गत असार २३ गते बसेको बैठकले पालिकामा कार्यरत आठजना कर्मचारी हटायो ।

त्यसमा हाम्रो वडामा कार्यरत दुईजना(कृषि प्राविधिक र कार्यालय सहायक)लाई हटाउने निर्णय ग¥यो’, उनले भने, ‘२ जना हटाएपछि पशु प्राविधिक, वडा सचिव र कार्यालय सहयोगी मात्र थिए, सचिव नै बिदामा बसेपछि प्रशासन र पञ्जिकरण अन्तरगतको काम हेर्ने कर्मचारी नभएका कारण सबै सेवा नै बन्द गर्नुपर्ने अवस्था आएको हो ।’ कर्मचारी पठाउन पालिकासँग पटक पटक माग गर्दा समेत सुनुवाई नभएको उनी बताउँछन् ।

‘मैले अस्ति मंगलबार पनि पालिका अध्यक्षसँग कर्मचारी माग गरेको थिएँ तर, उहाँले सिधै मिल्दैन भन्नु भयो । अध्यक्ष, उपाध्यक्षले हप्कीदप्की लाउने प्रयास पनि गर्नुभयो’, उनले भने । पालिकाले प्रशासन शाखाको वैकल्पिक कर्मचारी समेत नपठाउँदा वडा कार्यालयको सेवा प्रभावित बनेको वडाअध्यक्ष जंग गुरुङले गुनासो गरेका छन् ।

यता गाउँपालिका अध्यक्ष दिपक देवकोटाले भने वडा कार्यालयमा दुईजना वैकल्पिक कर्मचारी पठाइसकेको दावी गरेका छन् । ‘उहाँले निकाल्नु भएको सूचनामा कुनै सत्यता छैन’, पालिका अध्यक्ष देवकोटाले भने, ‘वडा सचिव बिदामा जाने भनेपछि पालिकाले सचिवको विकल्पमा कर्मचारी पठाइदिन्छु भन्दा वडाअध्यक्ष नमानेका हुन् ।’

वडा सचिव र अध्यक्ष बीच विवाद भएका कारण सचिव बिदामा गएको उनले बताए । ‘उहाँले नमाने पनि २ जना कर्मचारी भने पठाएका थियौँ तर उहाँ आवेगमा आएर सूचना निकाल्नु भएछ’, उनले भने । वडा नं ४ को कार्यालयलाई प्राथमिकतामा राखेर काम गरिरहेको पनि पालिका अध्यक्ष देवकोटाको भनाइ छ । तर वडाअध्यक्ष गुरुङले भने पञ्जिकरणको काम गर्न जो पायो त्यही कर्मचारीले नसक्ने हुँदा दक्ष, योग्य र अनुभवी कर्मचारी पठाउनु पर्ने माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्