| बिहिबार, मंसिर २०, २०८१

पुजारी आफैले हटाए गोरखनाथ मन्दिरको दानपेटिका

गोरखा दरबारस्थित गोरखनाथ गुफामा राखिएको दानपेटिका हटाइएको छ । गोरखकाली र गोरखनाथ मन्दिरको भेटी व्यवस्थापन गर्न कार्यविधि बनाउने तयारी भइरहेका बेला गोरखनाथ मन्दिरका पुजारीहरु आफैले उक्त दानपेटिका हटाएका हुन् ।

पुजारीले पैसा खाए भनेर चौतर्फी रुपमा बिरोध गरेकाले दानपेटिका हटाइदिएको गोरखनाथ मन्दिरका पुजारी इश्वरनाथ योगीले बताए । ‘गोरखनाथ गुफाका हामी तीन जना पुजारी र दुई कर्मचारी छौँ,’ उनले भने, ‘सरकारले पुजारीलाई ९ हजार र कर्मचारीलाई ५ हजारका दरले पारिश्रमीक दिने गरेको छ । दानपेटीकाको पैसा हामी ५ जनालाई थपथाप हुन्थ्यो तर सबैले रिस गरेपछि हटायौ ।’

उनका अनुसार २०७६ सालबाट राखिएको उक्त दानपेटीका हरेक १५/१५ दिनमा खोल्ने गरिन्थ्यो । गत भदौ ८ गतेको सर्वपक्षिय बैठकले मन्दिरको भेटीसँगै गोरखनाथ गुफामा रहेको दानपेटीकाको रकम पनि व्यवस्थापन गर्ने भनेर निर्णय गरेपछि दानपेटीका हटाएको उनले जानकारी दिए ।

गोरखा दरबार हेरचाह अड्डाका प्रमुख विष्णु पाठकले पनि पुजारीहरु आँफैले दानपेटिका हटाएको बताएका छन् । ‘भेटी संकलनका लागी गोरखकाली मन्दिरमा दुइ वटा दानपेटीका छन्, गोरखनाथ गुफामा पनि एउटा थियो तर अहिले उहाँहरुले नै हटाउनु भएछ,’ उनले भने । दानपेटिका हटाएको बारे भने प्रमुख जिल्ला अधिकारी भोला दाहालले आपत्ति जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्