ढोडेनीमा संचालित क्रसरलाई कारवाही गर्न माग
सिम्जुङ–घ्याच्चोक सडक आयोजनाका लागि अजिरकोट गाउँपालिका–४ ढोडेनीमा स्थापना भएको क्रसर उद्योगले नियम विपरीत आयोजनाभन्दा अन्यत्र गिटी वालुवा विक्री वितरण गरेको भन्दै स्थानीयले ध्यानाकर्षण गराएका छन् । मंगलवार जिल्ला समन्वय समिति र जिल्ला प्रशासन कार्यालयमा निवेदन बुझाउँदै उनीहरुले नियम विपरित काम गर्ने उक्त क्रसरलाई कानूनी कारवाही गर्न माग गरे ।
‘एक त आयोजना स्थलमा हुनुपर्ने क्रसर त्यो भन्दा दश किलोमिटर पर राखिएको छ,’ स्थानीय मनबहादुर तामाङले भने, ‘अर्काे आयोजनाको नाममा खोलिएको क्रसरले धमाधम अन्यत्र गिटी वालुवा बिक्री वितरण गरिरहेका छ, जुन नियम विपरीत छ ।’ बारपाकमा निर्माणाधीन हाइड्रो, सौरपानी र मुच्चोकमा संचालित योजनाहरुका लागि उक्त क्रसरले गिटी वालुवा बिक्री वितरण गरिरहेको उनले जानकारी दिए ।
बस्तीमै जोडेर क्रसर राखेकाले स्थानीयको जनजीवन समेत प्रभावित बनेको उनीहरुको गुनासो छ । ‘रातभरि पनि क्रसर चल्छ, त्यहाँबाट निस्किने धुलो र त्यसको आवाजले वायु र ध्वनि प्रदुषण गराएको छ,’ स्थानीय भिमकुमार गुरुङले भने, ‘त्यसकै असरले मेरो आमा बिमारी पर्नु भएको छ ।’ विद्यालय पनि नजिकै रहेकाले क्रसरका कारण पठनपाठन प्रभावित हुदैँ आएको उनीहरुको भनाइ छ । बस्तीबाट क्रसर हटाएर आयोजना क्षेत्रमै राख्न उनीहरुले माग गरेका छन् ।
प्रमुख जिल्ला अधिकारी पुण्यबिक्रम पौडेलले यसबारे आवश्यक छानविन गरिने बताए । ‘जिल्ला समन्वय समिति प्रमुख संयोजक रहेको अनुगमन समिति छ, हामी बैठक बसेर यसबारे थप बुझ्छौ र आवश्यक प्रक्रिया अघि बढाउँछौ,’ उनले भने ।