
यसरी मनाइयो गोरखामा माघे संक्रान्ति
गोरुलाई दुई ग्रेडमा बिभाजन गरियो, ‘ए’ र ‘बि’ । ठुला गोरु ‘ए’ ग्रेडमा परे । मझौला ‘बि’ मा । अनि सुरु भयो गोरु जुधाइ । घम्साघम्सी हेर्न स्थानीयको भीड उस्तै थियो । सिठी बजाउँदै त कहिले कराउँदै उनीहरु मनोरन्जन लिइरहेका थिए ।
माघे सङ्क्रान्तिको अवसर पारेर शहिद लखन गाउँपालिका–६ घैरुङमा मंगलवार ९ हल गोरु जुधाइएको थियो । ‘ए’ ग्रेड तर्फ पाँच र ‘बि’ ग्रेड तर्फ चार हल गोरु जुधाइएको आयोजक हिमालय देवी युवा क्लबले जनाएको छ ।
‘ए’ ग्रेड तर्फको बिजेता गोरुलाई १५ हजार र उपबिजेतालाई १० हजार नगद पुरस्कार दिइएको क्लबका अध्यक्ष निर्मल गुरुङले बताए । ‘बि’ ग्रेडतर्फ भने बिजेतालाई ८ हजार र उपबिजेतालाई ४ हजार नगद पुरस्कार वितरण गरिएको उनले जानकारी दिए । गोरखा र धादिङ जिल्लाबाट गोरु सहभागी गराइएको थियो । हराउँदै गएको परम्परालाई जर्गेना गर्ने उदेश्यसहित क्लबले बिगत ९ बर्षदेखि गोरु जुधाइ कार्यक्रम गर्दै आएको छ ।
यता भीमसेन थापा गाउँपालिका–५ वगुवामा पनि गोरु जुधाइ प्रतियोगिता भएको छ । वगुवा माछापोखरी नेवार समाज कल्याण गुठी, नवजागरण बिकास समाज, खाद्य सेवा समाज काठमाडौं र समुन्नत युवा क्लब वगुवाको संयुक्त आयोजनामा मंगलवार भएको कार्यक्रममा ८ हल गोरु जुधाइएको थियो । ३० मिनेटभन्दा बढी जुध्ने हल गोरुको हकमा बिजेताले १२ हजार र उपविजेतालाई ८ हजार नगद पुरस्कारको व्यवस्था गरिएको थियो ।
त्यो भन्दा कम समय जुध्नेको हकमा भने बिजेतालाई ८ हजार र उपबिजेतालाई ५ हजार नगद पुरस्कार दिइएको माघी मेला पर्व आयोजक समिति अध्यक्ष रामकुमार श्रेष्ठले बताए । ‘प्रतियोगितामा सहभागीताका लागि दर्ता शुल्क वापत एक हजार रुपैया लिएका थियौ,’ उनले भने, ‘हामीले सहभागी सबै गोरुका धनीलाई चार हजारका दरले रकम उपलब्ध गरायौ ।’ परम्परागत रुपमा चल्दै आएको प्रतियोगितालाई विगत ९ बर्षदेखि आफूहरुले निरन्तरता दिदै आएको उनले जानकारी गराए ।
सङ्क्रान्तिकै अवसरमा आयोजित ११ औं हिमालयदेवी कप फुटवल प्रतियोगिताको उपाधि हरमटारी क्लबले जितेको छ । मंगलवारको फाइनल खेलमा राइनास एफसीलाई ५–४ को गोल अन्तरले हराउँदै हरमटारी उपाधि विजेता बनेको हो । निर्धारित समयमा दुवै टिमको तर्फबाट गोल हुन नसकेपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो ।
प्रतियोगिताको उपाधी बिजेताले १ लाख ५० हजार नगद पुरस्कारको साथमा ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेता क्लबले ७५ हजार नगद पुरस्कारको साथमा मेडल र प्रमाणपत्र प्राप्त गरेको आयोजक क्लबले जनाएको छ । प्रतियोगितामा सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक र खेलाडीलाई समेत नगद पुरस्कारको व्यवस्था गरिएको थियो ।
सोही अवसरमा पशु तथा कृषि मेला प्रद्र्धशनी समेत भएको थियो । जसअन्तरगत लोकल जातको बोकातर्फ नविना थापाको बोका प्रथम भएको छ । त्यस्तै लोकबहादुर रानाको बोका दोस्रो, जुनमाया रेग्मीको बोका तेस्रो र रामबहादुर थापाको बोका सान्त्वना भएको गाउँपालिकाले जनाएको छ । उनीहरुले क्रमश ५ हजार, ४ हजार, ३ हजार र २ हजार नगद पुरस्कार पाएका छन् ।
उन्नत जातको बोकातर्फ टोपबहादुर रानाको बोका पहिलो, अर्जुन खनालको बोका दोस्रो, अजय आचार्यको बोका तेस्रो र बुद्धिमान श्रेष्ठको बोका सान्त्वना भएको छ । उनीहरुले पनि क्रमश ५ हजार, ४ हजार, ३ हजार र २ हजार नगद पुरस्कार पाएको बताइएको छ ।
लोकल कुखुरातर्फ रोशन रानाको कुखुरा पहिलो, कुममाया थापा मगरको कुखुरा दोस्रो, कृष्णबहादुर थापा मगरको कुखुरा तेस्रो र कमला श्रेष्ठको कुखुराले सान्त्वना स्थान हाँसिल गरेको छ । उनीहरुले क्रमश २५ सय, २ हजार, १५ सय र एक हजार नगद पुरस्कार पाएका छन् ।
त्यस्तै माछातर्फ लाफा नमूना कृषि फर्म प्रालि पहिलो, खोपबहादुर थापा दोस्रो र धनबहादुर थापा तेस्रो भएका छन् । उनीहरुलाई क्रमश २५ सय, २ हजार, १५ सय नगद पुरस्कार दिइएको छ । त्यस्तै कृषितर्फ पनि बिभिन्न किसानहरु पुरस्कृत भएका छन् । माया प्रेम स्मृति प्रतिष्ठान र गाउँपालिकाको संयुक्त आयोजनामा प्रदर्शनी भएको हो । कार्यक्रमकै अवसरमा दौड प्रतियोगिता र हस्तकला प्रदर्शनीसमेत भएको थियो ।
सङ्क्रान्तिको अवसरमा गोरखा सदरमुकाममा पनि कार्यक्रम भएको थियो । नेपाल मगर संघ गोरखा नगरपालिका समितिको आयोजना तथा गोरखा नगरपालिकाको समन्वयमा विविध सांस्कृतिक कार्यक्रम भएको हो । उनीहरुले झाँकीसहितको ¥याली समेत निकालेका थिए । हरमटारी खेलमैदानबाट सुरु भएको ¥याली गोरखा बजार परिक्रमा गरी पुन हरमटारी खेलमैदानमा पुगेर कार्यक्रममा परिणत भएको थियो ।
कार्यक्रममा मगर समुदायको संस्कृति झल्कने सोरठी, मारुनी, झ्याउरे, चुट्का, पाङ्दुरे लगायतका नाँचहरु प्रदर्शन गरिएको थियो । नेपाल मगर संघ गोरखा नगरपालिका समितिका अध्यक्ष होमबहादुर थापा मगरको अध्यक्षता एवं गोरखा नगरपालिकाका नगरप्रमुख कृष्ण राना मगरको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नगरपालिकाकी उपप्रमुख मसलीमाया थोकर, नेपाल मगर संघका केन्द्रिय सदस्य एवं गोनपा–५ का वडाअध्यक्ष विष्णु राना मगर लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
समितिले नेपाल रेडक्रस सोसाइटीसँगको साँझेदारीमा मंगलबार रक्तदान कार्यक्रम समेत गरेको थियो । मगर समुदायको वसोवास रहेको जिल्लाका अन्य पालिकाहरुमा पनि विविध कार्यक्रम गरी माघे सङ्क्रान्ति पर्व मनाइएको छ ।