| आइतवार, माघ २७, २०८१

अजिरकोटको १६ औँ गाउँसभा : हालसम्मको पूँजीगत खर्च प्रगति १६.७१ प्रतिशत

अजिरकोट गाउँपालिकाको चालु आर्थिक वर्षको हालसम्माको पुँजीगत खर्च जम्मा १६.७१ प्रतिशत रहेको छ । पालिकाको मंगलबार सम्पन्न १६ औँ अधिबेशनमा उक्त विवरण सार्वजनिक गरिएको हो ।

आर्थिक वर्ष सुरु भएको झन्डै ७ महिना बितिसक्दा पनि पालिकाले कार्यक्रम तथा पूर्वाधार विकास निर्माणतर्फ बिनियोजित बजेटको जम्मा १६.७१ प्रतिशत अर्थात २ करोड २६ लाख ७९ हजार रुपैयाँमात्र खर्च गरेको हो । यस्तै, पालिकाले चालु (कार्यालय संचालन एवं प्रशासनिक) खर्चतर्फ हालसम्म बिनियोजित बजेटको ३५.९४ प्रतिशत अर्थात ११ करोड ४० लाख ८१ हजार रुपैँया खर्च गरिसकेको छ ।

चालु आर्थिक वर्ष यता पालिकाले राजश्व बापत ५१ लाख ६४ हजार रकम संकलन गरेको पालिकाको प्रतिवेदनमा उल्लेख छ । हालसम्म ७ वटा योजनाहरु सम्पन्न भईसकेको पनि कार्यक्रममा जानकारी गराइएको थियो । पालिकाको ५५ वटा योजनाहरु सम्झौँता भएको र १८ वटा सम्झैँता हुन बाँकी रहेको पालिकाले जनाएको छ । यस्तै, ठेक्का सम्झौँता भएका ६ वटा योजनाहरु कार्यान्वयनको चरणमा रहेको बताइएको छ ।

पालिकाको भौतिक पूर्वधारतर्फको हालसम्मको वित्तीय प्रगति १६.०३ प्रतिशत रहेको छ ।पालिकाले मुटु फाउन्डेसनको ५० प्रतिशत साझेदारीमा ४२८ दलित परिवारको निशुल्क स्वास्थ्य बिमा कार्यक्रम लागु गरेको बताएको छ । पालिकाले सामाजिक विकासतर्फ हालसम्म ४१.२४ प्रतिशत प्रगति हासिल गरेको पालिकाको विवरणमा उल्लेख छ ।

चालु आर्थिक वर्षको हालसम्ममा २९ नयाँ व्यवसाय दर्ता भएको र ६७ वटा पुरानो व्यवसाय नविकरण भएका पालिकाले जनाएको छ । आर्थिक बिकास अन्तरगत हालसम्म बिनियोजित बजेटको ०.९४ प्रतिशत रकम मात्र खर्च भएको छ । सबै कार्यक्रमहरु सम्झैँता भई कार्यान्वयनको चरणमा रहेकाले खर्च कम देखिएको पालिकाले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्