
बिसौनीमोड–गोरखा क्याम्पस सडकको पहिरो नियन्त्रण गर्न चेक ड्याम
बिसानीमोड–गोरखा क्याम्पस सडकको पहिरो नियन्त्रणका लागि चेक ड्याम निर्माण सुरु भएको छ । नेपाल सरकारको रु. ८५ लाख बजेटमा चेक ड्याम निर्माणको काम सुरु गरिएको गोरखा नगरपालिका वडा नं ७ का वडाअध्यक्ष विष्णुप्रसाद श्रेष्ठले बताए ।
‘यस क्षेत्रको पहिरोका कारण पुरानो बसपार्क, नयाँबजार क्षेत्र र सालबोटे क्षेत्रमा समेत धक्का पुगेको छ । सिंगै गोरखा बजार नै जोखिममा परेको छ’, उनले भने, ‘यस चेकड्यामले केही हदसम्म रोकथाम हुने आशा गरिएको छ ।’ हाल उक्त पहिरो नियन्त्रणका लागि चेक ड्याम र पर्खाल निर्माणको काम संचालन भइरहेको उनले जनाए ।
गोनपा वडा नं ६ र ७ को सिमाना चिहाने खोलामा चेक ड्याम निर्माण गरिने उनले बताएका छन् । ‘करिब १०, १२ ठाउँमा चेक ड्याम निर्माण हुन्छ’, उनले भने, ‘साथै, ठाउँ ठाउँमा गरेर जम्मा ७० देखि ८० मिटर लम्बाईको पर्खाल पनि बनाउँदै छौँ ।’ वडाले निर्माण समिति गठन गरेर काम गराएको उनको भनाइ छ । यही चैत मसान्तभित्रमा सम्पन्न हुनेगरी काम संचालन भइरहेको उनले बताएका छन् ।
गोरखा नगरपालिकाका मेयर कृष्ण रानाले भने चेक ड्याम निर्माणका लागि बजेट अपुग भएको बताएका छन् । ‘त्यस क्षेत्रको पहिरोले गोरखा बजार नै धरापमा परेको छ’, उनले भने, ‘हाल चेक ड्यामसँगै पर्खाल निर्माणको काम पनि संचालन भइरहेको छ । ठूलो योजना भएकाले यस्ता आयोजना संचालन गर्न नगरपालिकाले सक्दैन, नेपाल सरकारबाट आएको पैसाले पुग्दैन् ।’ नगरपालिकाले आगामि वर्षहरुमा पनि बजेट माग गरी त्यस क्षेत्रको काम संचालन गराउने उनको योजना छ ।