
गोरखाका तीन स्थानीय तहहरुमा ‘नाफा आयोजना’ लागु हुने
गोरखाका तीन स्थानीय तहका पहाडी क्षेत्रमा काष्ठफल तथा फलफुल विकास आयोजना (नाफा) लागु भएको छ । संघले कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गतको राष्ट्रिय फलफूल विकास केन्द्रमार्फत गोरखाको पालुङ्टार नगरपालिका र आरुघाट तथा सिरानचोक गाउँपालिकामा आयोजना लागु गरेको हो ।
७ वर्षे आयोजनाका रुपमा २०७९ सालदेखि नै कार्यक्रम संचालन भएता पनि काम भने सुरु नभएको आरुघाट गाउँपालिकाकी कृषि शाखा प्रमुख नम्रता आचार्यले बताइन् । ‘आयोजनाले यो वर्ष मात्र कर्मचारी पठाएको छ । अब भने छिटै काम सुरु होला’, उनले भनिन् । आयोजना आफैले सबै काम हेर्ने भएकाले पालिकाले समन्वय मात्र गरिदिने उनले बताएकी छिन् ।
आयोजना अन्तरगत आरुघाट गाउँपालिकामा सुन्तला, कागती, ओखर, किवी, एभोकाडो र मेकाडेमिया नट जातको फलफुल खेतीमा अनुदान दिइनेछ भने पालुङटार नगरपालिका र सिरानचोक गाउँपालिकामा सुन्तला, कागती, एभोकाडो र मेकाडेमिया जातको फलफुल खेतीमा अनुदान दिने कार्यक्रम रहेको छ ।
प्रदेशको कृषि विकास निर्देशनालय, पहाडी क्षेत्र काष्ठफल तथा फलफुल विकास आयोजना, प्रादेशिक आयोजना कार्यान्वयन इकाइ अन्तरगत जिल्लामा कार्यक्रम संचालन हुने बताइएको छ । आयोजना अन्तरगत तोकिएका फलफुलहरुको बगैँचा स्थापनामा अनुदानको कार्यक्रम रहेको पालिकाहरुले जनाएको छ । इच्छुक कृषि उद्यमी, कृषक समूह तथा सहकारीहरुले आवश्यक कागजातसहित यही फागुन २० गतेभित्र सम्बन्धित पालिकाको कृषि शाखामा सम्पर्क गर्न पनि पालिकाहरुले आव्हान गरेको छ ।
नाफा आयोजन देशभरिका एकसय वटा स्थानीय तहमा र गण्डकी प्रदेशमा मात्र ३४ वटा स्थानीय तहहरुमा संचालन हुन लागेको छ । एसियाली विकास बैँक, विश्व कृषि तथा खाद्य सुरक्षा कार्यक्रम र नेपाल सरकारको संयुक्त साझेदारीमा संचालन हुन लागेको आयोजनाको कुल बजेट ९ करोड ३४ लाख ५० हजार रहेको छ ।
नेपालको मध्यपहाडी क्षेत्रमा फलफूल बालीको बगैंचा विस्तार गरी फलफूल तथा काष्ठफलको उत्पादन वृद्धि तथा मूल्य शृङ्खला प्रवद्र्धनमार्फत ग्रामिण रोजगारी सृजना गर्ने र कृषकहरुको आयस्तर वृद्धि गर्ने उद्देश्यका साथ कार्यक्रम लागु गरिएको आयोजनाको भनाइ छ ।