
प्रधानमन्त्रीलाई चिकित्सकको सल्लाह, १६ घन्टाभन्दा बढी काम नगर्नुस्
काठमाडौं : प्रधानमन्त्री केपी ओलीको स्वास्थ्य तुलनात्मक रूपमा अचेल ठीक छ। तैपनि चिकित्सकहरूले उनलाई धपेडीबाट जोगिन बारम्बार सुझाब दिइरहेका छन्।
मिर्गौला प्रत्यारोपण गरेका व्यक्तिमा संक्रमणको जोखिम धेरै हुने भएकाले भिडभाडबाट जोगिन पनि उनीहरूको सल्लाह छ। दैनिक हुने भेटघाट र कार्यक्रमको भिडभाडले प्रधानमन्त्रीलाई संक्रमणको जोखिम बढाएको निजी चिकित्सक डा. दिलीप शर्माले बताए। उनले भने, ‘दैनिक अबेरसम्म हुने भेटघाटलाई केही कम गराउनुपर्ने सुझाब हामीले दिएका छौं।’ अचेल प्रधानमन्त्रीको स्वास्थ्यमा कुनै समस्या भने नरहेको डा. शर्माले बताए। तर, यो समय सरुवा रोग फैलिने भएकाले जतिवेला पनि सचेत हुनुपर्ने उनको भनाइ छ। त्रिवि शिक्षण अस्पताल महाराजगन्जका कन्सल्ट्यान्ट युरोलोजिस्ट प्रा.डा. प्रेमराज ज्ञवालीले भिडभाडमा हुने भेटघाट तथा धेरै व्यक्तिसँग लगातारको उठबसले प्रधानमन्त्री संक्रमणको जोखिममा रहेको बताए।
उनले गुम्म कोठामा र एसी प्रयोग गरेर लामो समयसम्म नबस्न पनि ओलीलाई सुझाब दिएका छन्। भेट्न आउने व्यक्तिमा रुघाखोकी लागेको भए मिर्गौला प्रत्यारोपण गरेको व्यक्तिमा सहजै सर्ने उनले बताए। ‘देशले अहिले प्रधानमन्त्रीलाई आराम गर्न छुट त दिएको छैन,’ उनका निजी चिकित्सकले भने,’ ‘संक्रमणको उच्च जोखिममा परेर पनि प्रधानमन्त्रीले देश र जनताका हरेक गतिविधिमा संलग्न हुनुपरेको छ।’ प्रधानमन्त्री ओली बिहान सबेरैदेखि राति १ बजेसम्म पनि काम र भेटघाटमा व्यस्त हुने गरेको स्रोतले बतायो। तर, आफूहरूले ८ घन्टा अनिवार्य सुत्न प्रधानमन्त्रीलाई सुझाब दिएको चिकित्सकले बताए।