
ठाकुर बिरामी भएपछि राजपा सुनसान
राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्षमण्डलका संयोजक महन्थ ठाकुर बिरामी हुँदा राजपामा सुनसान देखिएको छ । पार्टीका गतिविधि शून्य झै भएका छन्। गत वैशाख ८ मा बस्ने भनिएको राजनीतिक समितिको बैठक अझैसम्म बस्न सकेको छैन भने पार्टीले संसदीय दलको नेता पनि चयन गरेको छैन।
भारतको मेदान्त अस्पतालमा मुटुको एञ्जिग्राफीको अप्रेसन गरेपछि ठाकुर अहिले सानो ठिमीस्थित आफ्नो निवामसा स्वास्थ्य लाभ गरिरहेका छन्। उनले भेटघाट र छलफलका कार्यक्रम पूर्णरूपमा बन्द गरेका छन्। पार्टीका अन्य नेताहरूसँग पनि उनी सकेसम्म कम बोल्ने गर्छन्। ठाकुरका सहयोगीले उनको स्वास्थ्यमा सुधार भइरहेको बताएका छन्। गत चैत २२ मा पछिल्लोपटक राजपाको अध्यक्षमण्डलको बैठक बसेको थियो। सो बैठकले वैशाख ७ गते पार्टीले स्थापना दिवस मनाउने र त्यसको भोलिपल्ट वैशाख ८ मा राजनीतिक समितिको बैठक बस्ने निर्णय गरेको थियो। राजनीतिक समितिको बैठकमा राजपाको आगामी महाधिवेशनबारे छलफल गरी मिति र स्थान तय गर्ने तयारी थियो।
स्थापना दिवस मनाउनुअघि गत चैत २७ मा ठाकुर स्वास्थ्य उपचार गराउन दिल्ली गए। वैशाख ७ सम्म दिल्लीमै बस्नुपर्ने भएपछि उनी स्थापना दिवस कार्यक्रममा पनि काठमाडौं आउन सकेनन्। त्यसको ४ दिनपछि गत वैशाख ११ गते उनी दिल्लीबाट काठमाडौं आएका थिए। काठमाडौं फर्केयता उनी एकपटक मात्र पार्टी कार्यालय बबरमहल पुगेका थिए। पार्टी कार्यालयमा उनी केहीबेर मात्र बसे। ठाकुर निकट स्रोतका अनुसार डाक्टरले उनलाई सकेसम्म कम बोल्न,सार्वजनिक कार्यक्रममा नजान सुझाव दिएका छन्।
नागरिक दैनिक