| बुधबार, अशोज १४, २०७७

यसरी चम्काउँदैछन् धुर्मुसले वीर अस्पताल

काठमाडौं । चापाचाप बिरामी । कुरुवा र आफन्तजनको भीड उस्तै । त्यतिमात्रै होइन, रत्नपार्क– पुरानो बसपार्क–सुन्धारा क्षेत्रको सार्वजनिक शौचालयसमेत हो भन्दा फरक पर्दैन । देशकै जेठो सरकारी अस्पताल, वीर अस्पतालको दुर्दशा हो यो ।
तर, यो परिचय बदल्न लागिपरेका छन्– हास्यकलाकार सीताराम कट्टेल ‘धुर्मुस’ ।

दुई वर्षको अन्तरालमा चार एकीकृत बस्ती बनाइसकेका धुर्मुसले ‘विश्वले चिन्नेछ नेपाल’ परियोजनाअन्तर्गत ‘नमुना नेपाल’ र अन्तर्राष्ट्रिय क्रिकेट मैदान बनाइछाड्ने सपनामाथि वीर अस्पतालको सफाइको भारी थपेका छन् । र, सामग्री आफैँ बोकिरहेका छन् ।
बिहीबार बाह्रखरीकर्मी वीर पुग्दा धुर्मुस आफैँ भित्तामा रङ दलिरहेका थिए । पाँच जना सिलिङ चम्काउँदै थिए भने दुई जना कामदार भित्तामा बिजुलीको लिस्टी अड्याइरहेका थिए ।

“आफैँ पो खटिट्एको छु त ! १५–२० दिनमा वीर अस्पतालको स्वरूपै बदलिसक्छौँ,” रङ लगाउँदै गरेको भित्तो देखाउँदै अठोट व्यक्त गरे उनले ।

“आज दुई घन्टामा त यति काम गर्न सकियो, भोलिदेखि दिनरातै काम गर्छौं,” समय भएछ क्यारे, बिदा मागे एक कामदारले । “यसरी त लक्ष्यबमोजिम काम सक्न मुस्किल हुन्छ नि !,” धुर्मुस चिन्तित देखिए । र एकोहोरो ब्रस दलिरहे ।

वीर अस्पताल सफाइ र भौतिक सुधारको अठोट लिएपछि आँखा झिमिक्क पारेका छैनन् धुर्मुसले । बिहान ६ बजे अस्पताल पुग्छन् । लगाएकै लुगामा धुस्रे–फुस्रे भएर सफाइमा खटिन्छन् । बेलुका अबेरमात्रै घर पुग्छन् ।

बिहीबार हामीले धुर्मुससँग सम्पर्क हुन नसकेपछि उनकी पत्नी कुञ्जना घिमिरेलाई सोध्यौँ । “आफ्नो उपचारका लागि अस्पताल जानुहोस् भनेको थिएँ, सञ्चो पनि छैन,” उनको जवाफ थियो ।
तर, वीर अस्पताल सरसफाइ गरिरहेकै ठाउँमा ब्रस दलिरहेका पो भेटिए धुुर्मुस ।

 

…अनि कस्सिए धुुर्मुस

झापाको सामान्य परिवारमा जन्मिएका धुर्मुस औषधोपचारका लागि वीर अस्पताल नजाने कुरै भएन । तर, भुइँतलाबाटै सुरू हुने दिसा–पिसाबको दुर्गन्धले नाक फुट्लाजस्तो हुन्थ्यो । बिरामी भएर उपचार गर्न गएको शौचको गन्धले मूच्र्छा परूँलाझैँ हुन्थे । अप्रेसन कक्षका बिरामीका आफन्तजन शौचालयको दुर्गन्धले ‘घाउमा संक्रमण थपिन्छ कि’ भन्ने भयले त्राहित्राहि भएको आँखैले देखेका छन् उनले ।

 

 

नाक थुनेर टिकटको लाइनमा उभिइरहेका र शौचको गन्धले भित्तापट्टि फर्किएर मुख छोपिरहेका वयोवृद्ध देख्दा उनको चित्त काढिन्थ्यो । तैपनि सफाइ गर्न कम्मर कसिहाल्ने अवस्था थिएन ।
एक त उनी हास्य कलाकार । अर्को, सफाइको अनुभव नै कहाँ छ र !

नेपाल सरकारले सरसफाइ दूत घोषणा गरेपछि वीर सफाइको योजना बुनेका हुन् उनले । शुरूमा उनले स्वास्थ्य मन्त्रालयसँग समन्वय गरे, सकारात्मक जवाफ पाए । त्यसपछि सफाइमा खटिएका हुन् उनी ।

 

त्रिभुवन विमानस्थल, पाशुपत क्षेत्र सफाइ गरेर चर्चा कमाएको खेम क्लिनिङ र बागमती सफाइ अभियान पनि उनीहरूसँग गाँसिए । त्यसबाहेक अर्का हास्यकलाकार मनोज गजुरेल पनि अभियानमा जोडिएका छन् ।
सुरूमा अभियन्ताहरूले वीरको शौचालयमात्रै सफा गर्ने योजना बनाएका थिए । स्वास्थ्य राज्यमन्त्री पद्मा अर्यालले वीरको अस्पतालमा आफैँ ब्रस रगडेर अभियान उद्घाटन गरिन् पनि ।

 

तर, जति तला उक्लँदै गयो, उति नै अव्यवस्थाको खुट्किला चढ्नुपरेपछि भौतिक संरचनामा नै आमूल परिवर्तन ल्याउने कसरतमा लागेका छन् उनी ।
अहिले धुर्मुस, खेम शर्मा, मनोज गजुरेललगाउत अभियन्ताहरूले वीर अस्पतालको सफाइमात्रै कस्सिएका छैनन्– भित्ता, झ्याल–ढोका रङरोगन गर्नेदेखि असरल्ल विजुली वायरिङको काम समेत उनीहरूले नै गर्न थालेका छन् ।

 

खर्चको स्रोत कसरी जुटाउँदैछन् ?

देश–विदेशका सहयोगी हातमार्फत् रुपैयाँ जुटाएर समाजसेवामा हात हालेका धुुर्मुसले वीर सफाइमा पनि सहयोगको हात बढाउन अपिल गरेका छन् । अहिलेसम्म २ लाख सहयोग जुटेको उनको भनाइ छ । त्यसले रङ किनेर भित्तामा लगाइरहेको उनी बताउँछन् ।
त्यसबाहेक अस्पताल प्रशासनले पनि आफूसँग भएको सीमित श्रोत–साधनको प्रयोग गरिहेको उनको भनाइ छ ।

 

“सबैले हाम्रो अभियान हो भनेर सहयोगको हात बढाउनुभएको छ,” उनले बाह्रखरीसँग भने, “विगतमा ढंग नपुगेर काम गर्ने शैलीले पनि हुनसक्छ, अस्पताल सरसफाइमा ध्यान पुगेन । आगामी दिनमा त्यसको महसुस नहुनेगरी उत्साही भएर सघाइरहनुभएको छ ।
त्यस्तै, अस्पताल सफाइका लागि अष्ट्रेलियामा रहेको खेम्स क्लिनिङ र त्यसका प्रमुखसमेत रहेका खेम शर्माले पनि अगुवाइ गरिरहेका छन् ।

सफाइको कामचाहिँ रातको समयमा मात्र हुने र बिहान–बेलुका पेन्टिङ र वायरिङको काम गर्ने धुर्मुस बताउँछन् । वीर अस्पतालकै १० जना सफाइ कामदार र २० जना अभियन्ता जुटाएर वीरको स्वरूप परिवर्तन गर्न लागि परेको धुर्मुसले सुनाए ।

 

मनोज भन्छन्– सरकारलाई सघाएका हौँ

धुर्मुससँग कुराकानी गर्दैैगर्दा हास्य कलाकार मनोज गजुरेल पनि आइपुगे । देश–विदेशमा हँसाउन पुगिरहने गजुरेल बेलाबखत सामाजिक काममा पनि चासो देखाउँछन् र अगुवाइ पनि लिन्छन् ।

धुर्मुसका यसअघिका परियोजनामा दिलोज्यान दिएर सघाएका मनोज गजुरेल वीर अस्पताल सरकारी कार्यशैली, जिम्मेवारी र जवाफदेहिताको नमुना भएको अथ्र्याउँछन्– “सफाइमा जुटिरहेका छौँ, धेरै केही भन्दैनौँ । हामी सामाजिक अभियन्ताहरूले बाटो देखाउने काम हो । जिम्मेवारी सरोकारवाला निकायले नै लिनुपर्छ ।”

 

उनले १५–२० दिनभित्रै वीर अस्पताल चम्काएर सरकारलाई ध्यानाकर्षण गराउने बताए । “हामीले सुतिरहेको राज्य र सरोकारवालाई व्युँझाउने हो । हामी कलाकारको काम यस्ता अभियान सञ्चालन गर्नेमात्रै होइन, हामीले उत्प्रेरणा जगाउने हो, राज्यकै विकल्प हुन सक्दैनौँ,” उनको प्रष्टोक्ति थियो ।

वीरपछि ट्रमा सेन्टर हुँदै अन्य सरकारी अस्पताल सरसफाइ गर्ने आफूहरूको योजना रहेको उनले सुनाए ।

 

सरसफाइ मजदुर भन्छन्– सफाइ गर्न जनशक्ति पुग्दैन

वीर अस्पताल सफाइमा सरकारी तलब र सेवा–सुविधा खाने कर्मचारी पनि छन् । त्यसबाहेक अस्पताल प्रशासनले विगत दुई वर्षयता टेन्डरमा सफाइ मजदुर नियुक्त गर्ने गरेको छ । अहिले श्रेष्ठ सरसफाइले त्यो अनुमति पाएको छ । र, दैनिक ५० जना सफाइ मजदुर वीरमा खटाउँछ ।

 

तर, विगत दुई वर्षदेखि अस्पताल सफाइमा खटिएकी दोलखाकी सावित्री बस्नेत भन्छिन्, “यति कामदारले वीर अस्पताल सरसफाइ गर्न छेउ पनि हुँदैन ।” उनी र अर्की एकजना महिला भुइँतलाको सफाइमा खटिने गर्दछन् । जनशक्ति र स्रोत–साधन नहुँदा भनेजस्तो सरसफाइ गर्न नसकिएको उनी दुःखेसो पोख्छिन् ।

“तल गएर बिरामी हेर्नुहोस् न !,” जिब्रो काढ्छिन् ।

 

त्यसबाहेक वीर अस्पताल वरपर सार्वजनिक शौचालय छैनन् । त्यसको मार पनि अस्पतालले नै बेहोर्नुपरेको छ ।

“अहिले सफा ग¥यो, एकछिनमा बिरामी, तिनका आफन्तजन र कुरूवासमेत आएर यस्तै बनाउँछन् । सफा गर्दागर्दै ओहोर–दोहोर गर्छन् र भुइँ पुछ्दै छौँ, एकछिन नहिँड्नूहोस् है भन्दासमेत टेर्दैनन्,” उनको दुःखेसो पनि आफ्नै छ ।
तैपनि त्यहाँ वर्षौंदेखि कार्यरत स्थायी कर्मचारीको तुलनामा आफूहरूले राम्रो सेवा दिएको उनी बताउँछिन् । “सरकारी कर्मचारीले बीस हजारसम्म तलब थाप्छन् । हामीले त्यसको आधा पनि पाउँदैनौँ, जम्मा ९ हजारमा ९ हजारमा जोतिनुपर्छ,” गुनासो गर्छिन् उनी ।
त्यस्तै अस्पताल प्रशासनले सफाइ–सामग्रीसमेत उपलब्ध गराउँदैन । “कुचो र फिनेलले मात्रै अस्पताल कहाँ सफा हुन्छ र !,” उनी भन्छिन् ।

 

रामेछापकी सविता धिमाल भने अस्पताल फोहोर भएको मान्न तयार छैनन् । उनले अस्पताल प्रशासनले सफाइ ठेक्कामा दिन थालेपछि अवस्था सुध्रिँदै आएको जिकिर गर्छिन् ।

“अहिले पनि धुर्मुसलगायत अभियानकर्मीको टोलीमा हाम्रा १० जना सफाइका साथी खटिनुभएको छ । उहाँहरूले पहिलो पनि यसैगरी सफाइ गर्नुहुन्थ्यो । फरक यति हो, पहिलो यति सामग्री प्रयोग हुँदैनथ्यो,” उनको भनाइ थियो ।

भक्तपुर चाँगुकी शारदा बुढाथोकी त्यहाँकी सफाइकी स्थायी कर्मचारी हुन् । २५ वर्षदेखि सफाइमा खटिएकी छन् शारदा । स्थायी कर्मचारीले राम्रो कार्यसम्पादन गर्न नसक्दा टेन्डरमा सफाइ कामदार नियुक्त गर्नुपरेको उनले स्वीकारिन् । सफाइको चेतना, सम्वेदनशीलता बुझाउन नसक्दा र फगत जागिर ठान्दा सफाइ व्यवस्थित हुन नसकेको कामदारको भनाइ छ ।

 

छेवैमा थिइन्, श्रेष्ठ सरसफाइकी सुपरभाइजर मीना श्रेष्ठ । उनले अस्पताल प्रशासनले दिएको जिम्मेवारी पूरा गरेको र सफाइमा कुनै कमी हुन नदिएको बताइन् । “हामी आउनुपूर्व अस्पताल फोहोरको थुप्रो थियो । अहिले यत्तिको बनाएका छौँ । आगामी दिनमा अझ सफा र व्यवस्थित बनाउँछौँ,” उनी बताउँछिन् ।  news source 12khari.com

प्रतिक्रिया दिनुहोस्