| शनिबार, बैशाख ८, २०८१

चितवनमा कोरोना सङ्क्रमणबाट २ जनाको मृत्यु

 कोरोना सङ्क्रमण भई यहाँ उपचाररत दुई जनाको मृत्यु भएको छ । एक जनाको भरतपुर अस्पतालमा र अर्का एकको चितवन मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो ।

  भरतपुर अस्पतालमा सर्लाहीको हरिपुर गाउँपालिकाका ५५ वर्षीय पुरुषको आज बिहान १० बजे मृत्यु भएको हो । अस्पतालद्वारा जारी सूचनामा मिर्गौलाको डायलासिस गरिरहेका उनको यही भदौ १८ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । उनको खोकीसँगै स्वाशप्रस्वासमा समस्या देखिएपछि भदौ २३ गतेदेखि कोभिड–१९ सघन उपचार कक्षमा उपचारका क्रममा मृत्यु भएको हो । 

यसैगरी चितवन मेडिकल कलेज भरतपुरमा उपचाररत एक सङ्क्रमित पुरुषको मृत्यु भएको छ । अस्पतालका निर्देशक प्राडा दयाराम लम्सालका अनुसार नवलपुरको देवचुली नगरपालिका–११ निवासी ३१ वर्षीय पुरुषको बिहीबार राति १२ः१८ बजेको समयमा मृत्यु भएको हो ।

प्रतिक्रिया दिनुहोस्