
सडक मर्मत टोलीलाई आफैँ उपचार गर्ने तालीम
दरौँदी ः जिल्लामा निर्माण भईरहेका ११ ओटै सडकका सहयोगी कामदारलाई प्राथमिक उपचार सम्बन्धि दुई दिने तालिम दिईएको छ । जिल्ला प्राविधिक कार्यलय गोरखाले जिल्ला रेडक्रस सोसाईटी गोरखासँगको समन्वयमा चैत्र १९ गते देखि सडक मर्मत समूहलाई प्राथमिक उपचार सम्बन्धी तालिम दिएको हो ।
जिल्लाका विभिन्न ग्रामिण ११ वटा सडक मर्मतका लागि खटिने ७५ जना कामदारलाई प्राथमिक उपचार सम्बन्धी तालिम दिएको रेडक्रस गोरखाका कार्यक्रम संयोजक गणेश रानाभाटले जानकारी दिए ।
‘अब सडकमा काम गर्ने घाइते कामदारले प्राथमिक उपचार नपाएकै कारण मर्नुपर्ने स्थिती छैन’ उनले भने ‘हामीले कामदारहरुलाई प्राथमीक उपचार सम्बन्धी सबै सिप र प्राथमिक उपचारका सबै सामग्री दिएका छौँ । यो कार्यक्रम पछि पक्कै पनि सडकमा कामगर्दा दुर्घटनामा परी अकालमा मृत्यु बरण गर्नुपर्ने अबस्था हट्नेछ ।’ रेडक्रसको तर्फबाट चिकित्सक टोपबहादुर बाँनियाको नेतृत्वमा तीन जनाका स्वास्थ्यकर्मीको टोलीले प्राथमिक उपचार सम्बन्धी तालिम दिएको रानाभाटाले बताए ।