गोरखामा अझै झिँगा भन्केको र गन्हाउने मासु
दरौँदी ः गोरखा सदरमुकाममा ब्यवस्थित बधशाला निर्माण हुन नसक्दा उपभोक्ताले स्वस्थ मासु किन्न पाएका छैनन् । गोरखा नगरपालिकाले आवश्यक जग्गाको लागि ठाउँ छान्न र कार्यक्रम सुरु गर्न नसक्दा बधशाला निर्माणको प्रारम्भिक कार्य रोकीएको हो ।
नगर क्षेत्र भित्रको फोहोर मैला ब्यवस्थित गर्ने कार्यक्रम अन्तरगत बधशाला निर्माण र बध पछि निस्केका फोहोर ब्यवस्थापनका लागि ठोस कार्यक्रम सुरु नहुँदा यस्तो समस्या भएको हो । ‘ऐन नियम केही बनेकै छैन’ गोरखा नगरपालिकाका वातावरण विज्ञ धु्रव घिमिरेले भने ‘अबको केही बैठकहरु ऐन नियम बनाउनको लागि नै हुन्छन् । त्यस पछि ठोस निर्णय आउला अहिले यसै भन्न सकिने अबस्था छैन । यो काम गर्न धेरै लगानी गर्नुपर्ने भएकोले पनि समस्या भएको हो ।’
नगरपालिकाले समय समयमा चासो दिने र फेरी छिटै सेलाउने गरेकोले समस्या भएको हो मासु ब्यवसायीहरु बताउँछन् । जिल्ला पशु सेवा कार्यालयले बधशालाको नाममा अहिले सम्म लाखौँं रुपैँया खर्च गरेपनि बधशाला ब्यबस्थित हुन सकेको छैन । तीन वर्ष अघिको भदौ मा बधस्थलको प्रारम्भिक काम सुरु गर्ने भनेर नगरपालिका र पशुसेवा कार्यालयले भने पनि अहिलेसम्म काम सुरु समेत हुन सकेको छैन । ‘केही मासु ब्यापारीको कारण सिंगो बजारका मासु ब्यापारीहरुको बद्नाम भएको छ’ गोरखा बजारमा कुखुराको मासु विक्रि गर्दै आएका एक ब्यापारिले नाम नलेख्न भन्दै भने ‘यो बसपार्क मुनी भैँसीको मासु भद्रगोल पाराले काट्नेहरुले हाम्रो समेत बिजेत भयो । हामीले त तीनचार लाख खर्चेर बध गर्ने, मासु राख्ने ठाउँ बनाएका छौँ ।’
पशु बध गर्ने ठाउँ ब्यवस्थित नहुँदा उपभोक्ताहरुले दुर्घन्धीत, माखा, झिँगा भन्केका मासु खान बाध्य छन् । बध स्थलको लागि सदरमुकामको बसपार्क भन्दा तलको ठाउँ सबै व्यवसायीहरुको लागि राम्रो र पायक पर्ने ठाउँ भएकाले मासु व्यवसायीहरुको तर्फबाट प्रस्ताव समेत गएको ति ब्यापारीले बताए । बसपार्क भन्दा तलको जग्गामा बध गर्न, बध गर्दा हुने फोहोरहरुको व्यवस्थापन गर्न पनि नजिकै खोल्सी रहेको भन्दै मासु ब्यवसायीहरुले उक्त ठाउँ प्रस्ताव गरेका थिए । तर, बध स्थल निर्माणको लागि सदरमुकाम बाट ३ किलोमिटर टाढाको जग्गा आबश्यक पर्ने पशु सेवा कार्यालयले बताउँदै आएको छ ।
निर्माण गर्ने रकम आबश्यक परे जति पशुसेवा कार्यालयले उपलब्ध गराउँछु भन्छ जग्गा खोज्न नगरपालिकाले चासो नदिएको मासु व्यवसायीहरुको भनाई छ । मासु व्यवसायीहरुलाई समय समयमा बध स्थलको बारेमा जानकारी दिने र छलफल गर्ने कार्यक्रमको आयोजना गरे पनि बध स्थल बनाउन भने चासो देखाए जस्तो मात्र गर्ने गरेको मासु व्यवसायीहरुले गुनासो गरेका छन् ।