सिरान्चोकको केन्द्र विवाद ः असारको गाउँ सभाले टुंगो लगाउने
दरौँदी ः जिल्लाको सिरान्चोक गाउँ पालिकाको केन्द्र बिहीबार भएको हिँउँदे अधिबेशनले पनि छनोट गर्न सकेन । केन्द्रका लागि विभिन्न चार ठाउँको प्रस्ताव आएपछि सममति जुट्न नसकेको हो । चारै ठाउँको लागि मतदान समेत भएको थियो ।
‘हिउँदे सभामा गाउँपालिकाको केन्द्रको विषयमा कार्यपालिकाको तर्फबाट वडा नम्बर ३ का अध्यक्ष बीरबहादुर थापाले प्रस्ताब पेश गर्नु भयो’ सिरान्चोक गाउँपालिकाका प्रमुख राजु गुरुङले भने ‘छलफलमा अहिले प्रस्ताब भएका गाग्रेडाँडा, राम्चेडाँडा, छोप्राक मैदान र चोरकाटेका कुनै पनि स्थानकालागि सहमति जुट्न सकेन ।
निर्वाचनमा गयौँ ।’ प्रस्ताब भएका कुनै पनि ठाउँको लागि दुई तिहाई मत नपुगेकोले आगाी असारमा हुने गाउँसभामा पुन सो प्रस्ताब ल्याएर टुंग्याइने गुरुङले जानकारी दिए ।
केन्द्र छनोटका लागि बुधबार भएको निर्वाचनमा गाग्रेडाँडालाई २४, राम्चेका लागि पाँच, चोरकाटेको लागि ६ मत र छोप्राक मैदानको लागि ७ मत खसेको थियो ।
धेरै मत गाग्रेडाँडाका लागि खसेपनि दुई तिहाईको लागि २८ मत चाहिनेभएकोले टुंगो लागेन । सिरान्चोकको केन्द्र छनोटमा माथिल्लो भेग र तल्लो भेगका जनप्रतिनिधीहरु बिच कुरा बाझिएको स्रोतले जनाएको छ । केन्द्र छनोटको लागि ४२ जनाले मतदान गरेका थिए । अहिले छोप्राकको मैदानमा गाउँपालिकाको केन्द्र स्थापना गरेर सेवा प्रदान गरिएको छ । गाग्रेडाँडामा सहमति ल्याउन धेरै प्रयास भएपनि जनप्रनितिधीहरु आपसमा बाझिए र निर्वाचन गर्दा पनि टु्रगोमा पुग्न नसकिएको हो ।
गाग्रेडाँडाको लागि जौबारी, केराबारी, श्रीनाथकोट, छोप्राकका माथिल्लो क्षेत्रका, गाँखुका माथिल्लो क्षेत्रका जनप्रतिनिधीहरुले सहमति जनाएका थिए ।