
बूढीगण्डकी जलविद्युत् आयोजना ः ६ करोड २२ लाख रकम हिनामिना
दरौँदी ः बूढीगण्डकी जलविद्युत् आयोजना मा मुआब्जामा तोकिएको जग्गाभन्दा बढी क्षेत्रफलको गणना गरी मोटो रकम हिनामिना गरिएको तथ्य खुलेको छ ।
मुआब्जा निर्धारण समितिले तोकेको दररेट अनुसार जग्गाको क्षेत्रफल बमोजिम हुने गणनामा फरक पारी ६ करोड २२ लाख ४० हजारभन्दा बढी रकम सम्बन्धित जग्गा धनीको बैंक खातामा पठाएको महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख छ । हाल उक्त रकममध्ये ६ करोड २० लाख ९८ हजार रुपैयाँ असुली भएको छ । तर, कारोबारमा संलग्न व्यक्तिहरुलाई सम्बन्धित निकायबाट कुनै कारबाहीको पहल नभएको प्रतिवेदनमा उल्लेख छ। उक्त कारोबारमा संलग्न व्यक्तिहरुलाई आर्थिक कार्य्विधि ऐन, २०५५ को १५ र २६ तथा अन्य प्रचलित कानुन बमोजिम कारबाही गरी सोको जानकारी १५ दिनभित्र उपलब्ध गराउन गृह मन्त्रालय, ऊर्जा मन्त्रालय र महालेखा नियन्त्रक कार्यालयलाई निर्देशन दिइएको छ । ऊर्जा मन्त्रालयबाट आइन्दा यस्तो गल्ती नगर्न निर्देशन गरेको जानकारी आए पनि अन्य निकायबाट कारबाही भएको जानकारीमा छैन । आयोजनाको कुल लागत अनुमान २ खर्ब ७८ अर्ब १९ करोड अनुमान गरिएकोमा हालसम्म ६ अर्ब ३० करोड रुपैयाँ खर्च भइसकेको छ । आर्थिक वर्ष २०६९र७० मा निर्माण कार्य अगाडि बढाई आर्थिक वर्ष २०७७र७८ मा पूरा गर्ने लक्ष्य लिइएको आयोजनामा हालसम्म भौतिक प्रगति २४ प्रतिशत भएको देखिन्छ । यता, अर्थ मन्त्रालयको अर्धवार्षिक बजेट समीक्षा प्रतिवेदन अनुसार चालू आर्थिक वर्षमा १० अर्ब १७ करोड ४२ लाख रुपैयाँ बजेट विनियोजित भएकोमा १ करोड ३५ लाख रुपैयाँ मात्र खर्च भएको उल्लेख छ। यो कुल विनियोजित बजेटको शून्य दशमलव १३ प्रतिशत हो । मुआब्जा वितरणमा समस्या देखिनु, बजार क्षेत्रको जग्गाको मूल्य निर्धारण हुन नसक्नु, नापी र मालपोत कार्यालयबाट समयमै कित्ताकाट गरी जग्गाको लागत नदिनु, अन्तर निकाय समन्वय नहुनु जस्ता कारणले आयोजना निमार्णले गति लिन नसकेको प्रतिवेदनमा उल्लेख छ ।
गोरखा र धादिङमा बन्ने १२ सय मेगावाट जडित क्षमताको यो जलविद्युत् आयोजना इपिसी (इन्जिनियरिङ, प्रोक्युरमेन्ट एन्ड कन्स्ट्रक्सन) मोडलमा निर्माण गर्नका लागि आवश्यक पर्ने लगानीको खाका तयार गर्न गठित समितिको प्रतिवेदन प्राप्त भइसकेको छ ।