| बुधबार, अशोज २३, २०८१

गुरु गोरखनाथको मूर्ती स्थापना गर्न उवासंघको अक्षयकोष

गोरखा : गोरखामा गुरु गोरखनाथको मुर्ति स्थापना गर्ने तयारी थालिएको छ । शनिबार गोरखा उद्योग वाणिज्य संघको नियमित बैठकले गोरखनाथको मुर्ती स्थापना गर्न अक्षयकोषको लागि एक लाख एक रुपैँया रकम छुट्टाउने निर्णय गरेसँगै तयारी थालिएको हो ।
‘हाम्रो नियमित बैठकमा गोरखनाथको मुर्ती स्थापना कसरी गर्न सकिन्छ भन्नेबारे छलफल भयो’ गोरखा उद्योग वाणिज्य संघ गोरखाका अध्यक्ष जीवनज्योती श्रेष्ठले भने ‘मुर्ती बनाउने भनेर धेरैले धेरै समय अघि देखि कुरा गरे काम गरेनन् । हामी चाहीँ यसलाई साकार पार्न अक्षयकोष निर्माण गरौँ विभिन्न क्षेत्रलाई सहयोगका लागि अपिल गरौँ भनेर लागेका हौँ ।’ गोरखा नगरपालिकासँग सहकार्य गरेर अघि बढ्ने श्रेष्ठले बताए ।

‘यसको नेतृत्व गोरखा नगरपालिले नै गरेपनि कुनै आपत्ति होइन, मुर्ती बन्नुप¥यो भन्ने उवासंघको निर्णय हो । हामी नगरपालिकासँग हातेमालो गरे अघि बढ्न खोजेका मात्रै हौँ ।’ आन्तरिक तथा बाह्य पर्यटकहरुलाई गोरखामा आकर्षित गर्नका लागि ऐतिहासिक मूर्तीहरु निर्माण गर्न जुटेको उवासंघले जनाएको छ । उद्योग वाणिज्य संघको उक्त कामलाई गोरखा नगरपालिकाले सकरात्मक रुपमा लिएको गोरखा नगरपालिकाका प्रमुख राजनराज पन्तले बताए । ‘गोरखनाथको मुर्ती बनाउन नगरपालिकाले नेतृत्व लिन्छ’ पन्तले भने ‘नगरपालिकाकै खर्चमा मेरै कार्यकाल भित्र गोरखामा गुरु गोरखनाथको मुर्ती ठडिन्छ ।’
गोरखा उद्योग वाणिज्य संघले यस अघि पश्चिमकाली स्थित द्रब्यशाह चौतारामा राजा द्रब्यशाहको अर्धकदको मुर्ती स्थापना समेत गरिसकेको छ । गोरखा नगरपालिकाले पनि गोरखाका ऐतिहासिक ब्यक्तिहरुको प्रतिमूर्ती स्थापना गर्ने योजना बनाइसकेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्