गोरखनाथ गुफामा १५ औँ सवा लाख रोट महोत्सव हुने
दरौँदी ः गोरखनाथ गुफामा १५ औं रोट महोत्सव हुने भएको छ । नेपालको प्रसिद्ध धार्मिक स्थल गोरखाको गोरखनाथ गुफामा विगतका वर्षहरुमाझैँ यस वर्ष पनि सवालाख रोट महोत्सव आयोजना गर्न लागिएको सिद्धाश्रम शक्ति केन्द्रले जिल्ला सदरमुकाममा पत्रकार सम्मेलन गर्दै जानकारी दिएको हो । बैशाख १७ देखि २७ सम्म ११ दिन सम्म रोट महोत्सव चलिरहने केन्द्रका राम्जी अर्यालले जानकारी दिए । केन्द्रको अर्यालले भने ‘गुरु गोरखनाथको प्रिय खाद्य वस्तु सवालाख रोट चढाएर उहाँको भजन किर्तनसहित महोत्सवको १५ औँ सस्करण सुरु गर्ने तयारीमा जुटेका छौ’ गुरु गोरखनाथलाई सबैभन्दा मनपर्ने खाद्यबस्तु रोट चढाए पछि उहाँ खुशी हुने र देशमा आउने विध्नबाधा अन्त्य हुने धार्मिक विश्वास छ ।’ गोरखा र आसपासमा हरेक मौसममा नयाँ अन्नवाली भित्राउने वित्तिकै वर्षमा दुई पटक मंसिर र साउनमा रोट पकाएर गुरु गोरखनाथलाई चढाएर मात्र खाने चलन छ ।
नयाँ अन्नको पिठोलाई घिउमा पकाएर रोट बनाई गोरखनाथलाई अर्पण गरेर मात्र आफू खाने धार्मिक विश्वास स्थानीयमा रहेको गोरखनाथ गुफाका मुलपुजारी प्रदिपनाथ योगीले बताए । बैशाख १७ गते शोभायात्रासहित गोरखा सदरमुकामबाट गुरु गोरखनाथको रथ बोकेर गुफा सम्म लगिने र ११ दिनसम्म हरेक दिन एक लाख रोट गोरखानाथ बाबालाई चढाईने केन्द्रका जिल्ला संयोजक किशोरकुमार अकेलाले बताए । ११ दिन सम्म चल्ने महोत्सवका लागि गोरखा आउने श्रद्धालु भक्तजनको आवास र खानाको प्रवन्ध समेत आयोजकले मिलाएको छ ।
रोट महोत्सवमा हरेक दिन साधक साधिकहरु बाट धार्मिक प्रवचन तथा भजनकिर्तन समेत हुने केन्द्रका संयोजक अर्यालले बताए । महोत्सवमा नेपालको विभिन्न जिल्ला र भारतबाट पनि ठुलो संख्या भक्तजनहरु आउने गर्छन् । भूकम्पले क्षति पु¥याएको गोरखनाथ गुफालाई सामान्य मर्मत गरेर पुजाआजा गर्ने गरिएको छ । त्यस्तै गोरखा दरबार हेरचाह अड्डाले भूकम्पले क्षति पु¥याएको गोरखा दरबार भत्काएर पुननिर्माणको काम समेत गरिरहेको छ ।