
सरकारी मोटरसाईकल, वडा अध्यक्षलाई की ? छोरालाई ?
दरौँदी ः गोरखा नगरपालिकाले वडाका सेवाग्राहीको सेवामा असर नपरोस, वडा अध्यक्ष कहीँ कतै गए समयमै आएर सेवा प्रदान गर्न सकुन् भनेर सबै वडा अध्यक्षहरुलाई मोटरसाईकल बाँड्यो । अहिले त्यो मोटरसाईकल केहीले आफैँ चलाएका छन् त केहीले मामाको धन फुपुको सरात भने जस्तै पारेका छन् ।
यसको उदाहरण हुन् गोनपा ३ नारेश्वरका वडाध्यक्ष रामबहादुर बोगटी । नगरपालिकाले दिएको ग १ ब ८२९ नम्बरको मोटरसाइकलको दुरुपयोग भएको हो । बोगटीले उक्त मोटरसाईकल आफन्तहरुलाई समेत चलाउन, सिक्न दिने गरेको स्रोतले बतायो । ‘वडा अध्यक्षले मोटरसाइकल चलाएकै देखिन्न’ नाम उल्लेख नगर्न भन्दै सोही वडाका एक उपभोत्ताले भने ‘कहिलेकाहीँ प्राविधिकले चलाएको देखिन्छ नत्र सँधै उनका छोराले नै चलाएर हिँड्छन् ।’ उनलाई वडा कार्यालय छोडेर अरु बेला आफ्नो निजि काममा मोटरसाईकलको प्रयोग गर्ने गरेको उनले बताए । सेतो नम्बर प्लेट भएको सबारीसाधन कार्यालयका कर्मचारीले कार्यालय समयमा र बिदाको दिन सम्बन्धीत कार्यालयको अनुमति लिएर मात्र चलाउन पाउने प्रावधान छ ।
वडा अध्यक्ष स्वयमले छोराले मोटरसाईकल चढाएर हिँड्ने गरेको स्वीकारे । ‘मलाई अलिअलि चलाउन आउँछ, बजार जान लाइसेन्स छैन’ दरौँदी सँगको टेलिफोन सम्पर्कमा बोगटीले भने ‘मलाई कार्यालय ल्याउने लैजाने छोराले गर्दिन्छ । कहिलेकाहीँ प्राविधिकले पनि चलाउँछन् ।’ बोगटी आफैँले उक्त सेतो नम्बर प्लेटको मोटरसाईकल सिक्न प्रयोग गर्ने गरेको बताए । ‘यसलाई घरमा ल्याएर कोठामा थन्क्याएर राख्ने कुरा भएन’ उनले भने ‘मेयरसँग सल्लाह गरेका छौँ ।’ उनले बजारमा तेल हाल्न छोरालाई पठाउने गरेको समेत स्वीकारे । सेतो नम्बर प्लेटको सरकारी मोटरसाईकल सिक्न प्रयोग गर्नुहुन्छ रे नी भन्ने प्रश्नमा उनले अन्य वडा अध्यक्षहरुले समेत यस्तै गर्ने गरेको पोल खुलाए । ‘मलाई मात्र के सोध्नु हुन्छ । वडा नम्बर ६ को ले के ग¥या छ ?’ उनले भने । गोरखा नगरपालिकाका प्रमुख राजनराज पन्तले यसबारेमा के रहेछ बुझ्ने बताएका छन् ।
‘कार्यालय लैजान र ल्याउन उनलाई पछाडी राखेर छोराले चलाउन पायो’ उनले भने ‘तर, बजार आउन । ब्यक्तिगत काममा हिँड्न पाएन ।’