| बिहिबार, मंसिर २०, २०८१

बहिनीको शैक्षिक प्रमाण पत्रमा बहिनीलाई जागिर, कारबाही गर्न प्रशासनको आलटाल

दरौँदी ः पालुङटार नगरपालिका १ का वडाध्यक्ष कृष्णबहादुर परियारले फर्जी कागजको आधारमा एक महिलालाई सहायक कर्मचारीमा छनौट गरेको प्रहरीको अनुसन्धानबाट प्रमाणित भएपनि कारबाही हुन सकेको छैन् । कारबाही गर्न प्रशासनले प्रहरी कार्यालयको र प्रहरीले प्रशासन कार्यालयको मुख ताक्ने गरेको पाइएको छ ।
जनप्रतिनिधि, वडा सचिब र प्रशासन कार्यालयका कर्मचारी समेतको मिलिमतो देखिएकाले कारबाही गर्न आनाकानी गरिएको स्थानीय बासिको आरोप छ ।
पालुङटार १ को कार्यालय सहायक पदमा दरखास्त दिँदा दिदि कविता बानियाँ (खड्का) ले बहिनी हिरा बानियाँको कक्षा आठ उर्तीण लब्धाङ्कपत्र प्रयोग गरेको भेटिएको थियो । साथै उनलाई बिन्दबासिनी मावि नारेश्वरले कक्षा आठ उतीर्ण बहिनी हिराको लब्धाङ्कपत्रमा दिदि कविताको फोटो टाँसेर दिएको थियो ।
यस बिषयमा जिल्ला प्रशासनको आदेशमा जिल्ला प्रहरी कार्यालय गोरखाले अनुसन्धान गरेर कर्मचारी छनौट गलत भएको पुष्टी गरेपनि दोषीलाई कानुन पालक निकाय नै कारबाही गर्न पन्छिरहेका छन् ।
प्रहरीकोे अनुसन्धानबाट कार्यालय सहायक पदमा कविताले पेश गरेको कागजातमा कविताले बहिनी हिराको कागज पेश गरेको खुलेको जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी भेषराज रिजालले जानकारी दिए ।
‘कविताले पेश गरेको लब्धाङ्कपत्र र नागरिकतामा जन्म मिति फरक फरक छ’ डिएसपी रिजालले भने ‘नाम र जन्म मिति फरक भएको व्यक्तिलाई छनोट गर्नु गलत नियत नभई वडाका कर्मचारीका हेलचक्र्याईँ भएको अनुसन्धानमा देखिएको छ । अनुसन्धानबाट पत्ता लागेको कुरा जिल्ला प्रशासन कार्यालयलाई पत्राचारगरी जानकारी दिने प्रक्रियामा छाँै । त्यसपछि प्रशासनले केकस्तो कारवाही गर्छ, हामीलाई थाह छैन ।’ फर्जी कागजको प्रकरण अनुसन्धानका लागि कसैलाई पनि नियन्त्रणमा नलिएको उनले स्वीकारे ।
छनौट भएकी महिलाले पेश गरेको नागरिकतामा जन्म मिति २०४५ साल उल्लेख छ भने लब्धाङ्कपत्रमा २०४९ साल उल्लेख छ । सो फर्जी कागजलाई पानपा १ को कार्यालय र जिल्ला प्रशासन कार्यालयले समेत सहि छ भनेर प्रमाणित गरेको कागजात नै भेटिएको छ ।
बिन्दबासिनी मावि बहिनी हिराको कक्षा आठको लब्धाङ्कपत्रमा दिदि कविताको फोटो टाँसेर फर्जी कागज बनाएको छ । यता फर्जी कागज प्रकरण अनुसन्धान तथा कारबाही प्रक्रिया फितलो भएको स्थानीय भोला श्रेष्ठको आरोप छ ।
‘यो मुद्दाको अनुसन्धान र कारबाही प्रक्रिया फितलो भयो’ श्रेष्ठले भने ‘यदि फर्जी कागजमा कर्मचारी छनोट गर्न संलग्न सबैलाई कारबाही नगरे आन्दोलन गर्छाैँ ।’ फर्जी कागज प्रकरणमा जिल्ला प्रशासन कार्यालय भित्रकै कर्मचारीको संलग्नता भएकाले कारबाही प्रक्रीया फितलो भएको श्रेष्ठले दाबी गरे ।
फर्जी कागजलाई वडा कार्यालयदेखि जिल्ला प्रशासन कार्यालयसम्मले सहि मानेर प्रमाणित गरेका छन् । कागजात फर्जी भएको प्रमाणित भएपनि दोषीलाई कुनै कारबाही नभएकोमा श्रेष्ठले आपत्ति जनाए ।
यस विषयमा प्रहरीले अनुसन्धान अघि बढाएकोले प्रशासनले तत्कालै केही गर्न नसक्ने प्रशासन कार्यालयका सूचना अधिकारी गौतम भण्डारीले जानकारी दिए ।
‘हामीले मुद्दाको विषयमा छानविन गर्न प्रहरी कार्यालयलाई पत्राचार गरेका छौ’ भण्डारीले भने ‘प्रहरी कार्यालयबाट ंमुद्दाको छानबिन हुँदै छ ।’ छानबिन भएर आएपछि मात्रै प्रशासनले कारबाहीको निर्णय गर्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्