
अदालतमा एउटै अभियुक्तबाट ९ करोड लगत उठाउन बाँकी
दरौँदी ः जिल्ला अदालत गोरखामा एउटै अभियुक्तबाट जरिवानाको ९ करोड रुपैँया उठ्न बाँकी रहेको छ । बैंकिङ कसुरको सजाय पाएका गोरखा नगरपालिका स्थित देउरालीका श्रीकृष्ण अधिकारीबाट उक्त रकम उठ्न बाँकी भएको हो ।
उक्त अभियुक्तबाट अदालतले जरिवाना लगत उठाउँन मिति २०७२÷०१÷०७ देखि प्रयास गरिरहेको जिल्ला अदालत गोरखाका श्रेस्तेदार गोविन्द आचार्यले बताए ।
‘जरिवाना एउटै अभियूक्त सँग मात्रै ९ करोड उठाउँन बाँकी छ’ आचार्यले भने ‘फरार भएकाले अदालतबाट लगत उठाउँन सकिएन । अभियूक्तको खोजी भईरहेको छ । पक्राउ नगरेसम्म लागत उठाउँन सम्भव छैन् ।’ अधिकारी सहयात्री हाउजिङ्ग प्रालीका सञ्चालक समेत रहेको प्रहरीको अनुसन्धानबाट पुष्टी भएको थियो । अधिकारी बिरुद्ध बैकिङ्ग कसुर सम्बन्धि मुद्दा दर्ता भएको जिल्ला अदालत गोरखाले जनाएको छ ।
सर्वाेच्च अदालतबाट २०७१ साल पुष २९ गते भएको फैसला पछि जिल्ला अदातल गोरखालाई अभियुक्तबाट उक्त लागत उठाई तीन बर्ष कैद गर्न पत्राचार गरिएको आचार्यले बताए ।
अभियुक्तलाई नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरो सिआईबीको टोलील पनि खोजी गरिरहेको जिल्ला अदालत गोरखाले जनाएको छ । ‘अधिकारीलाई सिआइबीको टोलीले पनि खोजी गरिरहेको छ, उनले भने ‘हाम्रो फिल्डमा हिँड्ने टोलीले अपराधीलाई पक्राउ गर्न सक्दैन । प्रहरी टोलीले अभियुक्तको खोजी भईरहेको बताउँछन् । अपराधी नै फरार भएपछि हामीले कसरी जरिवाना लगत उठाउँन सक्छौँ ?’
अधिकारीलाई सिआईबीले दुई वर्ष देखि खोजी गरिरहेको छ । फरार ब्यक्तिलाई पक्राउ गरी कारबाहीको दायरामा ल्याउन नसक्दा अदालतको दुई बर्षयताको जरिवाना लगत फछ्र्याैट प्रतिशत अत्यन्तै कम देखिएको गुनासो गरे ।
‘अधिकारीबाट लागत उठाउन सकिएको छैन’ आचार्यले भने ‘यदि अधिकारीबाट उठ्न बाँकी लगत सबै उठ्ने हो भने हाम्रो वार्षिक ९० प्रतिशतभन्दा धेरै लगत उठ्थ्यो । अधिकारीबाट लगत उठाउन नसकेकै कारण हाम्रो बार्षिक उठ्ने लगत प्रतिशतत १० प्रतिशत जति मात्रै हुने गरेको छ ।’
अहिले जिल्ला अदालत गोरखामा अधिकारीको समेत गरी जम्मा १० करोड ७५ लाख तीन हजार एक सय ५० दशमलब छ रुपैँया जरिवाना लगत उठ्न बाँकी रहेको उनले बताए ।